बुटवल,भदौ २९ ।
गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजका अवसरमा अनलाईन मार्फत आयोजना गरेको एकल तिजगित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर समाजले नेपाल तथा अष्टे्रलियामा रहेका नेपालीहरुकाबीचमा छुट्टा छुट्टै तीज गीत तथा नृत्य प्रतियोगीता आयोजना गरेको थियो ।
कोभिड १९ को सक्रंमणका कारण अनलाईन मार्फत आयोजना गरिएको प्रतियोगीतामा अष्ट्रेलिया र नेपालबाट ४६ प्रतियोगीहरु सहभागी भएका थिए । २२ दिन सम्म अनलाईन मार्फत चलेको प्रतियोगीताको आईतबार एक कार्यक्रमकाबीच नतिजा सार्वजनिक गरिएको छ ।
सहभागी मध्ये अष्ट्रेलियामा रहेका नेपालीहरुबीच चलेको प्रतियोगीतामा मेलवर्नकी दिव्या भट्टराईले ७ सय ५० अष्ट्रेलियन डलर प्राप्त गर्दै प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् ।
त्यस्तै मेलवर्नकै प्रिति सापकोटा द्धितिय एवम् प्रिया गौतम तृतीय स्थान हासिल गर्न सफल भएकी छिन् । उनीहरुलाई क्रमश : ५०० र २५० अष्ट्रेलियन डलर सहित पुरस्कृत गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिनुभयो ।
यता नेपालीहरुबीच चलेको प्रतियोगीतामा बुटबलकी रेजिना टण्डन प्रथम, मोरङकी सोनी गुरुङ द्धितिय र गुल्मीकी सृष्टि सापकोटा तृतीय भएका छन् ।
उनीहरुलाई क्रमश नगद रु २१ हजार, १५ हजार र १० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको अर्यालले जानकारी दिनुभयो । दुबै तर्फ सहभागी सबै प्रतियोगीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
गत अगस्त २१ देखि शुरू भई सेम्टेवर ११ सम्म सञ्चालन गरिएको प्रतियोगीतामा सहभागी कलाकारहरूको फेसबुकको लाइकलाई आधार मानि ५०५, इन्स्टाग्राम तथा युटुवलाइ आधार बनाएर ५० ५ अंक निर्धारण गरि मुल्यांकन गरिएको अर्यालले बताउनुभयो । त्यस्तै सहभागीहरुले तिजको पुरानो मौलिकपन र कला संस्कृतिको भएको गित तथा नृत्यलाई प्राथमिकता दिईएको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा दिदी बहिनी समाज भिक्टोरिया अष्ट्रेलियाकी अध्यक्ष जमुना पराजुली, गुल्मी समाज भिक्टोरियाका अध्यक्ष गान्धी प्रसाद भट्टराई,सचिव प्रकाश अर्याल लगायतले बोल्दै विजयी तथा सहभागी समुहलाई बधाई तथा धन्यवाद दिँदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम गुल्मी समाज भिक्टोरियाका सदस्य माधव खरेलको सहजीकरण र सहसचिव वर्षा भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)