बुटवल,भदाै २४ ।
कांग्रेस नेता विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसका संस्थापक बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भमा सुन्दरीजल पुगेका शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कांग्रेस प्रवक्ता रमेत रहेका शर्माले उम्मेदवारी घोषणा गर्ने भन्दै केही दिनअघि नै सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जानकारी गराएका थिए ।
देउवाले पनि सभापतिमा आफै उम्मेदवार बन्ने भनिसकेका छन् । १४ औँ महाधिवेशनबाट कांग्रेसले दुई जना महामन्त्री निर्वाचित गर्ने नयाँ वैधानिक व्यवस्था छ ।
यसअघि युवा नेताहरु गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । शर्माले १३ औँ महाधिवेशनमा खुलातर्फ १ हजार ६ सय २० मतसहित १६औँ स्थानमा केन्द्रीय सदस्य जितेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)