बुटवल,भदौ २३।
तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा अनलाइन प्रविधिद्वारा तीज गीत नृत्य प्रतियोगिताहरू सम्पन्न भएको छ। विद्यार्थीहरूलाई पढाइका अलवा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरी उनीहरूमा रहेको अन्तर्निहित प्रतिभाहरूलाई प्रस्फुटन गर्ने मुख्य अभिप्रायले कार्यक्रम गरिएको हाे ।
कार्यक्रमको सभाध्यक्ष विद्यालयकी प्राचार्य सीता पाण्डेले गर्नुभएको थियो। विशिष्ट अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञमूर्ति पाण्डे तथा अतिथिमा विद्यालयका सहप्राचार्य ईश्वरी पाण्डे र संयोजक बाबुराम सुवेदी रहनुभएको थियो ।
कक्षा ४ देखि कक्षा१० सम्म विद्यार्थीहरूका लागि प्रतियोगिता आयोजना गरिएको थियो। ७० प्रतिस्पर्धीहरूको उपस्थिति रहेको उक्त प्रतियोगितामा उपस्थित सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई स्वागत मन्तव्य राख्दै विद्यालयकी प्राचार्य सीता पाण्डेले विद्यालयले हिन्दु नारीहरूको महान् पर्व हरितालिकाको गरिमालाई जोगाएर राख्नु पर्ने कुरामा जोड दिनुभयो।
विद्यालयका संस्थापक अध्यक्ष तथा कार्यक्रमका बिशिस्ट अथिति यज्ञमूर्ति पाण्डेले कोभिड-१९ ले आक्रान्त पारेको यो विषम परिस्थितिमा विद्यार्थीहरू घरभित्रै थुनिएर रहनुपरेको बाध्यतामा अलिकति भए पनि उनीहरूलाई केही फरकपन दिन खोजिएको बताउनुभयो।
उक्त प्रतियोगिताको सञ्चालन शिक्षिकाहरू सानु पौडेल र सर्मिला पौडेलले गर्नुभएको थियो । प्रतियोगितामा विद्यालयका नृत्य प्रशिक्षक किशोर थापाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन विद्यालयक कम्प्युटर शिक्षक सुरज पौडेलले गर्नुभएको थियो ।
प्रतियोगितामा कक्षा १० स्टारकी छात्रा रोशनी कसौधन प्रथम,कक्षा ५ मुनकी छात्रा एेश्वर्या कार्की द्वितीय र ५ मुनकी छात्रा जस्मी बेल्वासेले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो। त्यस्तै कक्षा ६ सनकी छात्रा स्मारिका नेपाल र कक्षा ७ सनकी छात्रा भूमिका केसीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार भौतिक उपस्थितिमा वितरण गरिने कुरा पनि विद्यालयका सहप्राचार्य पाण्डेले जानकारी गराउनुभयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)