बुटवल,भदौ ११ ।
नेपाली कांग्रेसले भदौ १८ गते वडा अधिवेशन गर्नका लागि ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको जनाएको हो।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताए। बाँकी जिल्लामा पनि हामी एक-दुई दिनमा निर्वाचन अधिकृत खटाउँने उनले बताए ।
पार्टीको वेबसाइटमा गएर सार्वजनिक भएका नामावली हेर्न सकिने उनले बताए। क्रियाशील सदस्यको सूची सार्वजनिक गरिएका जिल्लामा निर्वाचन अधिकृत खटाइएका हुन्। अब बाँकी ३९ जिल्लाको क्रियाशील सूची पनि छिट्टै सार्वजनिक गरिने उनले बताएका छन्।
कांग्रेसले प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर र झापा लगायतको क्रियाशील सूची प्रकाशित गरेको छ। यस्तै बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरलगायत जिल्लाको क्रियाशील विवरण वेबसाइटमा राखिएको छ।
गण्डकी प्रदेशका गोरखा, लम्जुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी र नवलपुरलगायतको क्रियाशील सार्वजनिक भएको छ।लुम्बिनीमा रूपन्देही, पाल्पा र रोल्पालगायतको विवरण सार्वजनिक गरिएको छ भने कर्णालीमा हुम्लाको मात्रै क्रियाशील विवरण वेबसाइटमा राखिएको छ।
प्रदेश नम्बर २ र ७ मा भने कुनै पनि जिल्लाको क्रियाशील विवरण अहिलेसम्म सार्वजनिक गरिएका छैनन्। कांग्रेसले १४ औं महाधिवेशनका लागि यसपटक ९ लाखभन्दा बढी क्रियाशील सदस्य बनाएको छ जसमध्ये करिब ५० हजार विदेशस्थित जनसम्पर्क समितिका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)