बुटवल,साउन १४-
नेकपा माओवादी केन्द्र छाडेर एमालेतिर लागेका चारजना नेताहरुले दायर गरेको रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुरु हुँदैछ।
प्रतिनिधिसभा सदस्य पद फर्काउन मासहित माओवादी केन्द्र छाडेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतले रिट हालेका थिए।
उनीहरुको रिटमा सुनुवाइका लागि न्यायाधीश कार्कीको एक इजलासमा पेशी तोकिएको हो। चारै नेताहरुले आफूहरु अझै पनि नेकपा एमालेमा प्रवेश नगरेको तर्क गर्दै माओवादी केन्द्रमै रहेको जिकिर गरेक थिए।माओवादी केन्द्रमै रहेकाले सांसद पद फर्काइदिन उनीहरुले माग गरेका हुन्।
सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएपछि यी चारजना नेता एमालेमै बसेका थिए। पार्टी परिवर्तन गरेको भन्दै माओवादी केन्द्रले उनीहरुलाई चैत २४ गते सांसद पदबाट बर्खास्त गरेको थियो। सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित भएपछि त्यसबारे जानकारी संसद् सचिवालयलाई दिइएको थियो।
माओवादी केन्द्रबाट निर्वाचित सांसद र पार्टी साधारण सदस्यबाट पनि हटाइएपछि उनीहरुलाई संसद सचिवालयले गत चैत २६ गते सांसद पदबाट हटाएको थियो। सांसद पदबाट हटाएको करिब ४ महिनापछि रायमाझीसहितका नेताले सर्वोच्चको ढोका ढकढक्याएका हुन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)