बुटवल,साउन ११-
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.ले लुम्बिनी प्रेस क्लवमा आबद्ध पत्रकारहरुलाई उपचारमा सहुलियत दिने भएको छ । अस्पताल प्रशासन र लुम्बिनी प्रेस क्लबबीच उपचारमा सलुलियत प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता अनुसार उक्त अस्पतालमा उपचार गराउँदा पत्रकारहरुलाई विभिन्न सेवामा निश्चित छुटको व्यवस्था गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । छुट सेवा लिनका लागि क्लवको परिचयपत्रको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्ने उनले जानकारी दिए ।
स्वास्थ परीक्षण र उपचारमा दिने सहुलियतको लागि लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी र अस्पतालका प्रबन्ध निर्देशक पौडेलले हस्ताक्षर गरी सम्झौता गरेका थिए ।
रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनीरोडमा रहेको उक्त अस्पताल केही महिना अगाडि सुविधासम्पन्न आधुनिक भवनबाट सेवा विस्तार गरिरहेको छ । मृगौला रोगको उपचारमा लुम्बिनी प्रदेशमै प्रभावकारी सेवा दिदै आएको उक्त अस्पतालमा यति बेला हाडजोर्नी र नशा रोगको पनि विशेष उपचार हुँदै आएको छ ।
स्वास्थ्य क्षेत्रका सबैउपचार सेवा सञ्चालन गरेको उक्त अस्पतालले पत्रकारहरुलाई लक्षित गरी प्रदान गरेको सहुलियत प्याकेज महत्वपूर्ण रहेको लुम्बिनी प्रेस क्लबका महासचिव कमल रायमाझीले बताए । सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा क्लबका कार्यसमिति सदस्य रबिन्द्र प्रताप गुप्ता र पुनहरि बेल्बासेको समेत उपस्थिति रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)