बुटवल,असार ९ -
लाेकप्रिय पत्रिका जनसंघर्ष राष्ट्रिय साप्ताहिक ३२ औं वर्षमा प्रवेश गरेको छ । बुटवल मिडिया प्रकाशन प्रा. लिद्वारा राष्ट्रिय दैनिक दैनिक पत्र, राष्ट्रिय साप्ताहिक जनसंघर्ष, स्वाधीन राष्ट्रिय मासिक र अनलाईन संस्करणमा दैनिक पत्र डटकम संस्थागत रुपमा प्रकाशित हुँदै आएका छन् ।
जनसंघर्ष ३२ औं वर्ष प्रवेशका सन्दर्भमा बुधबार जनसंघर्षका संस्थापक, वरिष्ठ पत्रकार तथा अधिवक्ता डा. बालकृष्ण चापागाईंलगायतका पत्रकार तथा कर्मचारी परिवारद्वारा संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी वार्षिकोत्सवको शुभारम्भ गरिएको छ ।
सो अवसरमा संस्थापक डा. चापागाईंले जनसंघर्षको यात्रा चुनौतीपूर्ण भएतापनि त्यो भन्दा धेरै गौरवपूर्ण भएको भन्दै यस सत्कार्यमा कर्मचारी परिवार, पत्रकार, लेखक, लगानीकर्ता, विज्ञापनदाता एवं शुभेच्छुकहरुको योगदान र प्रेरणा महत्वपूर्ण रहेको बताउनु भयो ।
प्रजातन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि स्थापना कालदेखि नै सूचना, समाचार र विचार सम्प्रेषण गर्दै आएको यो पत्रिका आम पाठकहरुका बीचमा अत्यन्तै लोकप्रिय रहेको छ ।
व्यवस्थापक मञ्जु पौडेलले नेपाली पत्रकारितामा जनसंघर्षको योगदान गौरवपूर्ण रहेको चर्चा गर्नुभयो । सो अवसरमा संस्थाका लेखा प्रमुख उषा पौडेल, कार्यालय प्रतिनिधि पवित्रा पन्थी, बजार प्रवद्र्धक देवकला खरेल, रामबाबु पाण्डे, सीमा लामिछान, इन्दिरा बस्याल, तुलसी सुवेदीलगायतका कर्मचारीले मन्तव्य व्यक्त गरेका थिए ।
३२ औं वर्ष प्रवेशका सन्दर्भमा जनसंघर्षले ‘संघीयतामा स्थानीय सरकारको भूमिका’ विषयसँग सम्बन्धित विभिन्न पठनीय सामग्री सहित २४ पृष्ठको विशेषाङ्क प्रकाशित समेत गरेको छ ।
विगत ३१ वर्ष अघि वि.सं. २०४७ जेठ ३० गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भई असार ०९ गते पहिलो अंक प्रकाशित भएको यो पत्रिका २३ वर्षसम्म अनवरत राष्ट्रिय दैनिकको रुपमा प्रकाशित भई वि.सं. २०६९ मंसिर १४ गतेदेखि राष्ट्रिय साप्ताहिकका रुपमा निरन्तर प्रकाशित भईरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)