बुटवल,असाेज ३-
आज असोज ३ अर्थात् राष्ट्रिय संविधान दिवस,सार्वभौम संविधानसभाबाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट पाँच वर्ष पूरा गरेको छ ।
वि.सं.२०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ । संविधान जारीपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू क्रमशः कार्यान्वयनमा छन् ।
संविधानले परिकल्पना गरेको कतिपय संरचना निर्माण र नागरिक तहसम्म पहुँच भने अझै पुग्न सकेको छैन ।संविधानले परिकल्पना गरे अनुसारको सङ्घीय व्यवस्था कार्यान्वयनमा आएको छ । तर पालिका तहबाट अझै पनि प्रभावकारी सेवा सुविधा प्राप्त हुन नसकेको नागरिकको गुनासो कायमै छ ।
त्यस्तै मधेस केन्द्रीत दलले संविधान संशोधनको माग उठाउँदै आएका छन् ।दिवसका अवसरका राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व कायमै रहेको बताउनुभएको छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले पनि संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार रहेको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिदै उहाँले सङ्घ, प्रदेश र पालिकाबीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवाद सिर्जना हुन नदिनेतर्फ सचेत बन्नुपर्नेमा जोड दिनुभएको छ ।
हालसम्म सङ्घमा १५८ कानून निर्माण भएका छन् । प्रदेशमा नं १ मा २६ वटा र ४ स्थानीय तहमा ४ चार कानून बनेका छन् ।प्रदेश नं २ मा २१ वटा, २ स्थानीय तहमा २ कानून बनेका छन् । बागमती प्रदेशमा २४ वटा, १३ स्थानीय तहमा १३ वटा कानून बनेका छन् ।
गण्डकी प्रदेशमा २७, १८ स्थानीय तहमा १८ वटा कानून, प्रदेश नं ५ मा ३१, २ स्थानीय तहमा ७ वटा कानून बनेका छन् ।कर्णाली प्रदेशमा २१ र १९ वटा स्थानीय तहमा १९ कानून र सुदुरपश्चिम प्रदेशमा २७ वटा र ८८ स्थानीय तहमा १०३२ कानून बनेका छन् ।नेपालको संविधानअुनसार सङ्घले संविधानसँग नबाझिने गरी कानून बनाउँछ । सोहीअनुरुप प्रदेश र स्थानीय तहले कानून बनाउनुपर्ने हुन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)