बुटवल,असाेज २-
परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले विद्युत प्राधिकरणमा उपयुक्त व्यक्तिलाई चयन गरिने बताएका छन् ।
प्रेस संगठन नेपाल, रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले भने,‘प्राधिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आवश्यक छैन,कार्यक्षमताका आधारमा उपयुक्त निर्णय गरिनेछ ।’
उनेल भने-‘कुलमानजीको योग्यता र क्षमताको उचित मूल्यांकन हुनेछ ।’ मन्त्री ज्ञवालीले नेपाल सरकार राष्ट्रिय हित र नागरिकको भावनालाई केन्द्रमा राखेर अगाडि बढिरहेको बताए ।
कोरोना भाइरस नियन्त्रणका लागि जनताको सावधानी आवश्यक रहेको पनि उनले बताएका छन् । मन्त्री ज्ञवालीले कोरोना पराजित हुने बताए ।जनताको साथ, सहयोग र समर्थनबाट कोरोना परास्त गर्न सकिनेमा विश्वस्त रहेको उनले बताए ।
‘बहुचर्चित र विवादित’एमसीसी सम्झौता अनुमोदन हुन्छ:
‘सरकार के कुरामा विश्वस्त छ भने कोरोना मात्रै परास्त गर्ने कुरा होइन, मुलुकमा उत्पन्न हुन लागेको आर्थिक संकट र नागरिकको दैनिकीमा देखा परेको समस्याको समाधान नागरिकसँगको सहकार्यमा गरिनेछ,’ मन्त्री ज्ञवालीले भने ।
ज्ञवालीले ‘बहुचर्चित र विवादित’ एमसीसी सम्झौता अनुमोदन हुने बताएका छन् । एमसीसीका विषयमा रहेका केही प्रश्नको उत्तर खोजेर एमसीसी अनुमोदन हुने ज्ञवालीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)