बुटवल,जेठ १३-
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले काँग्रेसको काँधमा तीनवटा दायित्व एकसाथ आएको बताएका छन् ।
नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा भिडियो सम्वादका माध्यमबाट आयोजना गरिएको कार्यक्रममा बोल्दै पौडेलले कोरोना महामारीबाट जनता,समयमै महाधिवेशन गरेर पार्टी र कम्युनिष्ट सरकारका कारण संकटमा परेको संविधानलाई बचाउने दायित्व काँग्रेसको काँधमा आएको बताएका हुन् ।
यसैबिच पौडेलले १४ औं महाधिवेशन गर्न दुई विकल्प अघि सारेका छन् । कोरोना महामारी र मध्यावधि निर्वाचनका कारण भदौका लागि तय भएको महाधिवेशन अनिश्चित देखिएपछि पौडेलले विकल्प अघि सारेका हुन् ।
पार्टीको वैधानिकता जोगाउन भदौसम्म जसरी पनि महाधिवेशन गर्नुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले अहिले टुंगो लागेका क्रियाशील सदस्यबाटै महाधिवेशन गर्ने वा १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाट एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रस्ताव अघि सारे ।
कांग्रेसले झण्डै ८ लाख क्रियाशील सदस्यको विवरण आफ्नो डेटा सिष्टममा इन्ट्री गरिसकेको छ । तर कतिपय जिल्लामा समायोजन विवादका कारण क्रियाशील सदस्यता टुंगो लागेको छैन ।
सबै क्रियाशील सदस्यको विवरण डेटा सिस्टममा आएपछि उजुरी आह्वान गरेर छानविन गर्नुपर्छ । यो सबै प्रक्रिया पूरा गरेर भदौ ७–१० मा महाधिवेशन गर्न निकै चुनौतीपूर्ण बनेको छ ।
नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा नेता पौडेलले भने, ‘क्रियाशील सदस्यता सबैतिरबाट कम्प्लिट गरेर १४ औं महाधिवेशन गर्न सम्भव छैन । जति उपलब्ध छन्, तिनीहरुबाटै वडा गाउँपालिका, क्षेत्रबाट प्रतिनिधि छनोट गरौं ।’
वरिष्ठ नेता पौडेलले दोस्रो विकल्पको रुपमा १३ औं महाधिवेशनकै प्रतिनिधिका आधारमा महाधिवेशन गर्ने प्रस्ताव गरे ।
यी समाचार पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)