बुटवल,जेठ ७-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन्।
शुक्रबार दिउँसो विपक्षी गठबन्धनहरू पुग्नुभन्दा पहिला नै शितल निवासमा पुगेका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका हुन्।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओलीले एमाले संसदीय दलको नेताको हैसियतमा आफूले र जसपाका ३२ सांसदको तर्फबाट संसदीय दलका नेता राजेन्द्र महतोले गरेको हस्ताक्षर राष्ट्रपति भण्डारीलाई बुझाएका हुन्। जसपामा केही दिनअघिमात्रै महन्थ ठाकुर र राजेन्द्र महतो समूहले महतोलाई संसदीय दलको नेता चुनेको थियो।
१४९ सांसदको हस्ताक्षरसहित कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबी पेश गर्न गएका विपक्षी गठबन्धनका नेताहरू अहिले पनि शितल निवासमै छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)