बुटवल,जेठ ७-
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बन्नका लागि आफू प्रयासरत रहेको बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले प्रतिनिधिसभामा ठुलो दलको नेताका हैसियतले आफूलाई बहुमत जुटाउन सहज हुने ठान्दै उपधारा ५ बमोजिम सरकारको नेतृत्वका लागि दावी गर्ने योजनामा रहेको बताए । यसका लागि आफूले दलहरूसँग सहयोग मागेको पनि उनले जनाए ।
दलहरुले यसअघि राष्ट्रपतिबाट उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान हुँदा दावी पेश गर्न नसकेको र अढाई महिनासम्म पनि आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकेको जिकिर गर्दै उनले अझै पनि विकल्प दिन सक्ने हो भने मौका रहेको प्रस्ट पारे ।
‘आफूले बनाउन नसक्ने हो भने मलाई समर्थन गर्नुस् भनेको छु,’ उनले भने, ‘प्रतिनिधिसभालाई जोगाऔँ भन्ने नै मेरो उद्देश्य हो ।’ उनले यसअघि प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चले खारेज गरिदिएको स्मरण गराउँदै त्यसतर्फ फेरि जानु नपरोस् भनेर प्रयासरत रहेको बताए । ‘प्रतिनिधिसभा विघटन भनेपछि अस्ति नै थुतुनो पोलेको मान्छे म,’ उनले भने, ‘त्यसैले आउनुस्, मलाई समर्थन गर्नुस् भनेर दलहरूलाई भन्न चाहन्छु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूलाई वैकल्पिक सरकार बनाउन आग्रह गर्दै आफ्नो रचनात्मक सहयोग हुने प्रस्ट पारेका छन् । ओलीले आफू पनि सरकार बनाउन नसक्ने अनि विकल्पका लागि बाटो खोल्दा पनि दलहरुले विभिन्न भ्रम छरेको आरोप लगाए ।
अविश्वास प्रस्ताव दर्ता होला भनेर आफूले अढाइ महिनासम्म म पर्खिएको उनले बताए । ‘अविश्वास प्रस्ताव ल्याइएन, त्यसपछि मैले विश्वासको मत मागेँ,’ उनले भने, ‘त्यसो भए मलाई विश्वासको मत दिनुस् भनेँ ।
वैकल्पिक सरकार बन्न सक्दैन भने मलाई समर्थन दिनुस् भनेँ । त्यो नदिनका लागि घिनलाग्दो चक्रव्यूह बनाइयो ।’ उनले महाभारतकालीन ‘चक्रव्यूह’ को उदाहरण दिँदै सरकार ढाल्नका लागि नीति, विधि तोडिएको आरोप लगाए । ‘विश्वासको मत नपुगोस् भन्नका लागि दलहरुभित्रै विग्रह, दलीय अनुशासन, लोकतान्त्रिक मूल्य मान्यता पनि छाडेर २७ जना मान्छे गुटगत हिसाबले, अनुशासनहीन ढंगले सरकार ढाल्ने खेलमा विपक्षीसँग मिलेर सरकार ढाल्ने प्रयास भयो,’ उनले भने ।
उनले आफ्नै पार्टीका खनाल–नेपाल पक्षका सांसद विश्वासको मत लिने बेलामा संसदमा अनुपस्थित भएकोप्रति संकेत गर्दै प्रश्न गरे, ‘यी काम लोकतान्त्रिक मूल्यमान्यता अनुसारका हुन् ? कुनै पनि हिसाबले नैतिक हुन सक्छन् ?’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)