बुटवल,बैसाख ३०-
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.ईश्वर गौतमलाई पुनःनियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्षमा डा. गौतम र सदस्यमा दाङका तेजबहादुर बस्नेतलाई पुनःनियुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
बैठकले जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी डा.मनिलाल श्रेष्ठ र जीवनारायण यादवलाई प्रदेश सरकार मातहतमा अस्पतालमा कामकाजमा खटाउने निर्णय बैठकले गरेको छ ।
जसअन्तर्गत श्रेष्ठलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र यादवलाई राप्ती प्रादेशिक अस्पताल दाङमा खटाइने निर्णय भएको छ ।
त्यसैगरी कोभिड कोष सञ्चालनका लागि सदस्य सचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रहने बैठकले निर्णय गरेको छ । यसअघि सामाजिक मन्त्रालयका सचिव रहने व्यवस्था थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)