बुटवल,बैसाख १८-
कोरोना संक्रमितको उपचारका लागि शय्या उपलब्ध गराउन नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिव्यक्तिप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ ।
समाजका केन्द्रीय कार्यसमिति सभापति गोविन्द खनालले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै महाविपत्तिको समयमा सरकारले निर्वाह गर्नुपर्ने न्युनतम दायित्वबाट च्युत भएको जनाएको छ ।
‘सरकार विहीनताको झल्को दिने गरी आएको त्यस्तो अभिव्यक्ति दुःखद एवं दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विश्वव्यापी महाविपत्तिको रूपमा रहेको कोभिड संक्रमणको सामना गर्न राष्ट्रियरअन्तर्राष्ट्रिय सहयोग र सहकार्य आदानप्रदान गर्न जरुरी रहेको जनाइएको छ । ‘संकटमा सरकार लगायत कसैले पनि संयम गुमाउनु हुँदैन । तसर्थ सबै क्षेत्र, समुदायसँग सहकार्य गर्न शान्ति समाजले बारम्बार आग्रह गर्दै आएको छ ।
यो संकटबाट मुक्तिका लागि राष्ट्रिय सहमति कायम गर्दै सम्पूर्ण साधन, स्रोत परिचालन र सामथ्र्यको प्रदर्शन गर्न सरकार लगायत सम्बद्ध सबैलाई शान्ति समाज आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो क्षमताले भ्याएसम्म शान्ति समाज सदैव सहयोगीको रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्दै अराजकता र अव्यवस्थालाई बढावा दिने काम कसैले पनि गर्न नहुनेतर्फ शान्ति समाजले पुनः ध्यानाकर्षण गराएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)