बुटवल,बैशाख १४-
सरकारले तत्काल सीमा नाका बन्द नगर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले भारतसँगको स्थल सीमा नाकाहरुबाट नेपालीहरुको आवतजावत बन्द नगर्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार सीमा नाका नेपालीलाई खुला गरिएपनि गैरनेपालीको हकमा भने विशेष अवस्थामा बाहेक आवतजावत गर्न दिइने छैन । सीमा नाका भएर नेपाल भित्रिने नागरिकको ‘जस्टिफाइ’ स्थानीय प्रशासनले गर्ने गरी सीमा व्यवस्थापन गरिने मन्त्री ज्ञवालीले बताए ।
भारतमा कोरोनाभाइरसको संक्रमण बढेर नेपालमा पनि फैलिरहेको र सीमा नाकामा बन्द गरिनुपर्ने आवाज उठ्दै आएपनि सरकारले भने वेवास्ता गरेको हाे ।
कास्कीमा एक साताका लागि निषेधाज्ञा :
कोरोना संक्रमण तीव्र बन्दै गएपछि प्रशासनले वैशाख १५ गते बुधबार बिहानदेखि कास्कीमा एक साताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबारदेखि एक हप्तासम्मका लागि जिल्लामा निषेधाज्ञा लागू हुने सूचना जारी गरेको हो । सोमबार राति सूचना निकालेर प्रशासनले २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।
कास्कीका सिडिओ थानेश्वर गौतमद्वारा हस्ताक्षरित सूचनामा आदेश अवज्ञा गरे कारवाही हुने उल्लेख छ । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)