बुटवल, चैत १८-
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । प्रदेशसभाका सचिब दुर्लभ कुमार पुनले आज दिउँसो १ बजे संसद बैठक बोलाईएको जानकारी दिए । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले चैत्र १८ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ शाहले संसद बैठक आह्वान गरेका हुन् ।लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन सकिएको यही चैत्र १९ गते ६ महिला पुग्दैछ ।
यसअघि असोज २० मा प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको राप्ती उपत्यका देउखुरी तोकिएपछि वर्षे अधिवेशन अन्त्य भएको थियो । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले सत्तारुढ नेकपालाई एकिकरण अघिको अवस्थामा पुर्याइदिएको थियो ।
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार गठबन्धन सरकारको रुपमा रहेको छ । पुन विभाजित भएपछि अब दुइ दलको लागि छुट्टा छुट्टै लहरमा बस्ने व्यवस्था मिलाइने छ ।
कुन दल कसरी बस्ने भन्ने टुंगो कार्य व्यवस्था परामर्शको बैठकले निर्णय गर्ने प्रदेश सभा सचिव पुनले जानकारी दिए । अर्को दलले समर्थन फिर्ता नलिइएको अवस्थामा गठबन्धन सरकार कायम रहने र मन्त्रीहरुको बसाई सरकारकै लहरमा हुने उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)