बुटवल,चैत्र १३-
नेपाल हृदयरोग निवारण प्रतिष्ठान रुपन्देहीले बुटवलमा एक दिने मुटु सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ ।
स्वस्थ्य मुटुको लागि दैनिक ब्यायम गरौ भन्ने नारासहित शुक्रबार देविनगरस्थित नबिन औधोगिक कदर बहादुर रिता माविका विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा समिर गौतमले मुटु स्वस्थ्य राख्ने उपायका बारेमा प्रकाश पार्दै खानपिन र ब्यायाममा ध्यान दिनुपर्ने बताए ।
सहरी जिवनशैलीका मानिसहरुमा सुविधा खोज्ने होड बढ्दा पनि ब्यायाम नहुने हुदा यसले मुटु रोगको जोखिम बढाइरहेको उनले दाबी गरे । यसको जोखिम कम गर्ने सबभन्दा सहज उपाय भनेको आफ्नो दैनिकी परिवर्तन गर्नु भएको उनले बताए ।
मुटु स्वस्थ राख्न कम्तिमा पनि दैनिक तीस मिनेट लम्केर हिँड्नुपर्ने उनको सुझाव छ ।मुटु जोगाउन खानपिनमा समेत ध्यान दिनुपर्ने उनले बताए । उच्च रक्तचाप, मधुमेह, शरीरको तौल, कोलस्ट्रोलको मात्रा कति छ भनेर वर्षमा कम्तिमा एकपटक स्वास्थ्य परीक्षण समेत गराउनु लाभदायक हुने उनले बताए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष निर्मल प्रसाद लाकौल, उपाध्यक्ष बोनिन पिया, सचिव नरेश कुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले युवा वर्गलाई सचेत बनाउन सके यसबाट समाजमा फाइदा मिल्ने भन्दै विद्यालयस्तरमा कार्यक्रम गरिएको बताए । कार्यक्रममा विद्यालयका ४ सय विद्यार्थीहरु सहभागी थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)