बुटवल,फागुन २७ -
नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा अन्य दलसँग वार्ताका लागि कार्यदल गठन गरेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा खारेज भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेपछि कांग्रेस संसदी दलका नेता वीरेन्द्रकुमार कनोडियाले कार्यदल गठन गरेका हुन् । कार्यदलमा कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खाँन, बीरबहादुर राना र रमा अर्याल छन् ।
कार्यदल संयोजक एवं कांग्रेस प्रमुख सचेतक खानले प्रमुख प्रतिपक्षी दल ‘वेटिङ गभरमेन्ट’ भएकाले पछिल्लो राजनीतिक परिस्थितिमा सरकारको नेतृत्व लिने गरी माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका दलहरुसँग छलफल, संवाद र परामर्श सुरु गर्ने नागरिक अनलाइलाइ बताए ।
यद्यपि छलफल एमालेसँग पनि हुने र केन्द्रबाट जे निर्देशन आउँछ त्यही अनुसार नै गठबन्धन बन्ने उनले बताए ।लुम्बिनी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार छ । सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितिमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा प्रदेश सरकार संकटमा पर्नेछ ।
एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनबाट लुम्बिनी प्रदेश सभाको ८७ सिटमध्ये एमालेबाट ४१ जना र माओवादी केन्द्रबाट २० जना प्रदेश सांसद निर्वाचित भएका थिए । अब एकता खारेज भएसँगै सरकार टिकाउन एमालेलाई ३ जना सांसद अपुग भएको छ ।
लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन् । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)