बुटवल ,कार्तिक २८ ।
आधुनिकताको प्रभावसँगै मौलिक कला र संस्कृति हराउँदै गइरहेका बेला अर्घाखाँचीबाट रुपन्देहीमा बसोबास गर्दै आएका हंसपुरवासीले भने आफ्नो मौलिक पहिचान जोगाउने अभियानलाई निरन्तरता दिएका छन् ।
हंसपुर रुपन्देही सम्पर्क समाजले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व शुभ दीपावलीको अवसरमा यस वर्ष पनि परम्परागत मौलिक संस्कृति झल्किने देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ ।
अर्घाखाँची स्थायी घर भई रुपन्देहीका विभिन्न स्थानमा बसोबास गर्दै आएका अर्घाखाँचीवासीले आफ्नो जिल्लाको मौलिक संस्कृति र पहिचानलाई नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यले विगत सात वर्षदेखि निरन्तर यस्तो कार्यक्रम सञ्चालन गर्दै आएका हुन् ।कार्यक्रम संयोजक राजन खनालका अनुसार मौलिक संस्कृति हराउँदै गएको अवस्थामा परम्परागत शैलीमा आयोजना गरिएको देउसी–भैलोले बुटवलसहित सहरी क्षेत्रमा समेत उल्लेखनीय माया र साथ पाउँदै आएको छ ।
कार्यक्रममा परम्परागत शैलीमा भट्याउने, मौलिक सोरठी, मारुनी नाच तथा बाँसुरी नाचलगायतका सांस्कृतिक प्रस्तुति रहनेछन् ।
मंसिर ४ गते एकादशीका दिन बुटवल–११, देवीनगरस्थित चौपारीमा साँझ ७ बजेदेखि देउसी–भैलो हुने रेशमबाबु खनालले नागरिक अनलाइनलाई बताए ।
समाजले मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा साथ दिन सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)