बुटवल ,असोज ३ ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भोलि रुपन्देहीमा हुने वडा अधिवेशनमा खटिने निर्वाचन अधिकृतहरूलाई अभिमुखीकरण गरेको छ ।
आइतबार हुने वडा अधिवेशनका लागि जिल्ला निर्वाचन समितिले शनिबार पार्टी कार्यालय भैरहवामा १ सय ५५ जना निर्वाचन अधिकृतहरूलाई अभिमुखीकरण गरेको हो ।
अभिमुखीकरणमा जिल्ला निर्वाचन अधिकृत आरसी गौतम र सहायक निर्वाचन अधिकृत माधव घिमिरेले निर्वाचन प्रक्रिया, विधि, प्रावधान तथा मतदान अधिकृतले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले पार्टीको आन्तरिक निर्वाचन भएकाले मतदान अधिकृतहरूले तटस्थ र निष्पक्ष भएर निर्वाचन सम्पन्न गराउन आग्रह गरे ।
उनले निर्वाचनमा खटिएका मतदान अधिकृतलाई आवश्यक सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई समेत आग्रह गरे । उपसभापति थानेश्वर घिमिरे र सचिव हरि काफ्लेले पार्टीको आन्तरिक निर्वाचन भएकाले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने र सर्वसम्मत हुन नसके लोकतान्त्रिक विधि र प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्न आग्रह गरे ।
रुपन्देहीमा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकासहित १६ वटा स्थानीय तहमा १५५ वडा रहेका छन् । वडा अधिवेशन असोज ४ गते आइतबार हुने काँग्रेसले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)