बुटवल,माघ २९-
प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त रिहा गरेको छ ।
१६ माघमा गोरखामा आयोजित सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै ‘जरुरी पक्राउ पूर्जी’ थमाएर उनलाई बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । उनलाई मीनभवनस्थित अपराध महाशाखा प्रमुख दिपक कार्कीको कार्यकक्षमा राखिएको थियो ।
प्रहरीले उनसँग प्रहरीले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको थियो । ‘राष्ट्रपति संस्थाप्रति सम्मान छ किनकि हाम्रो आन्दोलन रगत पसिनाले स्थापित गरेको संस्था हो’ झाँक्रीले भनिन्, त्यहाँ पुग्ने पात्रहरूको क्रियाकलापको न आलोचना गरिएको छ, यसमा पश्चाताप गर्नुपर्ने केही छैन ।’
प्रहरीले उनीसँग सोधपुछ गरिरहँदा पक्राउको चौतर्फी विरोध भइरहेको थियो भने प्रचण्ड–माधव समूह सम्बद्ध युवा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । चौतफी दबाबपछि प्रहरीले उनलाई झण्डै साढे ५ घण्टा नियन्त्रणमा राखेर रिहा गरेको छ ।
महाशाखा प्रमुख एसएसपी दीपक थापाले पनि झाँक्रीलाई निःशर्त रिहा गरिएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)