बुटवल,बैसाख ५ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको तालिममा प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका पदाधिकारी तथा शेयर सदस्य गरी २५ जनाको सक्रिय सहभागिता रहेको वित्तीय साक्षरता सहजकर्ता अम्बिका बेल्वासेले बताइन् ।
सहभागीहरूलाई वित्तीय व्यवस्थापन, बचत तथा लगानीका आधारभूत सिद्धान्तहरूबारे ज्ञान प्रदान गर्नुका साथै वैदेशिक रोजगारीसँग सम्बन्धित मानसिक तथा सामाजिक समस्याहरूको समाधानका उपायबारे सचेत गराउने उदेश्यले तालिमको आयोजना गरिएको थियोे । समापन समारोहमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले वित्तीय साक्षरता आजको आवश्यकता भएको उल्लेख गर्दै सही वित्तीय योजना बिना आर्थिक समृद्धि सम्भव नहुने बताए।
उनले वैदेशिक रोजगारीमा जाने वा फर्किएका व्यक्तिहरूका लागि मनोसामाजिक परामर्श पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले व्यक्तिगत तथा पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
तीन दिनसम्म सञ्चालन गरिएको तालिममा सहभागीहरूले दैनिक जीवनमा वित्तीय अनुशासन कसरी कायम गर्ने, आम्दानीको सही व्यवस्थापन, ऋणको सदुपयोग तथा बचतको महत्वबारे व्यवहारिक ज्ञान हासिल गरेका थिए।
सहकारीकी अध्यक्ष सिता न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष गोपाल प्रसाद घिमिरे, कार्यपालिका सदस्य रबी सेन्चुरी लगायत अन्य सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो।तालिमको सहजीकरण मनोसामाजिक परामर्शकर्ता सकुन्तला ढकाल र वित्तीय साक्षरता सहजकर्ता अम्बिका बेल्वासेले गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले तालिम निकै उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले सिकेका ज्ञानलाई आफ्ना परिवार तथा समुदायमा समेत विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)