बुटवल,वैशाख ५ ।
महिला पतञ्जली योग समिति रूपन्देहीको आयोजनामा बुटवलमा ७ दिने आवासीय योग प्रशिक्षण शिविर आजदेखि शुरू भएको छ ।
बुटवलको न्यु होराइजन माध्यमिक विद्यालय (देविनगर) को प्राङ्गणमा शिविर शुरू भएको हो ।लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट ३५० जनाको सहभागीता रहेको छ ।
हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म योग प्रशिक्षण हुने महिला पतञ्जली योग समिति रूपन्देहीकी अध्यक्ष बिष्णुमाया गुरुङले बताउनुभयो ।
प्रमुख प्रशिक्षकको रूपमा पुज्य साध्वी देवा दिति (साध्वी देवादिति) रहनुभएको छ भने उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल रहनुभएको थियो । अर्यालले योगाभ्यासले मानिसको जीवन स्वस्थ र फुर्तिलो बनाउने बताउनुभयो ।
यो शिविरले महिलाहरूलाई योग, प्राणायाम र स्वस्थ जीवनशैलीप्रति जागरण गराउने तथा योग शिक्षक तयार पार्ने उद्देश्य राखेको आयोजक समितिले जनाएको छ ।
अतिथिहरूमा वडा न ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेल,न्यु होराइजन माध्यमिक विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय लगायत रहनुभएको पतञ्जली योग समिति रूपन्देहीका अध्यक्ष रामप्रसाद शर्मा सापकोटाले बताउनुभयो ।
सहयोग शिक्षक तालिमका लागि सहभागीहरूबाट रु. २ हजार शुल्क लिइएको छ भने अन्य सामान्य सहभागीहरूका लागि शिविर निःशुल्क रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)