सर्लाही,फागुन १६ ।
नेपाल कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्षभित्र मधेशका दलित तथा विपन्न घरपरिवारको बस्तीमा उल्लेखनीय परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सर्लाहीको ईश्वरपुर वडा नं ६ बयलबास बजारमा चुनाबी सभालाई सम्बोधन गर्नु हुदै उहाँले चुनावी प्रतिस्पर्धामा हिडिरहदा मधेका दलित तथा विपन्न परिवारमा हरेको बस्ती अबको पाँच वर्षमा पुर्ण रुपमा परिवर्तन हुने दाबी गर्नुभयो ।सर्लाहीको दलित तथा विपन्नको अवस्था हेर्दा यस्तो होला भन्ने आफुले कल्पना समेत नगरेको थापाले बताउनुभयो ।
त्यस्तै उहाँले मधेशको शिक्षा, कृषि र रोजगारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।थापाले मधेशको शिक्षा क्षेत्र अहिले गुणस्तरीयतामा पछाडि परेको उल्लेख गर्दै अबको पाँच वर्षमा शिक्षा प्रणालीमा सुधार गरिने दाबी गर्नुभयो। “मधेशलाई गुणस्तरीय शिक्षामा अगाडि ल्याइनेछ,” उहाँले भन्नुभयो।
यसैगरी कृषि क्षेत्रमा देखिएको मलखाद अभाव र बिचौलियाको समस्याबारे बोल्दै थापाले अब किसानले सोझै पसलबाट मलखाद किन्न सक्ने व्यवस्था मिलाइने बताउनुभयो। बिचौलिया हटाएर पारदर्शी वितरण प्रणाली लागू गरिने उहाँको भनाइ छ।
यसै क्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित टिप्पणी गर्दै “हावा हुण्डरीमा एकछिन अडिक हुन” मतदातासँग आग्रह गर्नुभयो। २०६४ सालमा पनि यस्तै राजनीतिक लहर आएको तर अपेक्षित उपलब्धि हासिल नभएको उल्लेख गर्दै अहिले पनि त्यस्तै अवस्था दोहोरिन सक्ने उहाँले दाबी गर्नुभयो। थापाले परिवर्तनका लागि सबै राजनीतिक शक्तिको सहकार्य आवश्यक रहेको बताउँदै नेपाली कांग्रेस, नेकपा एमाले, अन्य कम्युनिस्ट तथा मधेसवादी दलहरूको सहयोग आवश्यक पर्ने धारणा राख्नुभयो। संविधान संशोधनमार्फत संरचनात्मक सुधार नगरी दीगो परिवर्तन सम्भव नहुने उहाँको भनाइ थियो।
देशको समग्र विकासबारे बोल्दै थापाले “कांग्रेसको मुद्दा देशलाई पाँच वर्षमा तीव्र गतिमा बिना दुर्घटना अघि बढाउनु हो” भन्नुभयो। २०४६ सालपछि भएका राजनीतिक गतिविधि र व्यक्तिहरूको छानबिन गरिने दाबी गर्दै उहाँले छानबिनको सुरुआत आफू र पार्टी सभापतिबाटै हुने बताउनुभयो।नेपालमा ५ लाख युवामा ५० हजारले मात्र रोजगारी पाएको छ । बाकी साढे ४ लाखलाई पाँच वर्षमा प्रत्येक वर्ष ५० हजार युवाले रोजगारी पाउने थापाले दावी गर्नुभयो ।
युवाहरूमा पुराना पार्टीप्रति असन्तुष्टि रहेको स्वीकार गर्दै थापाले विचार र नेतृत्वमा परिवर्तन ल्याएर युवामैत्री कांग्रेस निर्माण गरेको दाबी गर्नुभयो। “युवाको विचारअनुसार बदलिएको कांग्रेसलाई मतदान गर्न म आग्रह गर्छु,” उहाँले भन्नुभयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)