बुटवल,फागुन ७ ।
बुटवल-७ , शिवनगरमा अवस्थित आवर पीसल्याण्ड एकेडेमीले आफ्ना विद्यार्थीलाई पठन संस्कृतिको विकाससंगै सृजनशील बनाउने अभियानमा जुटेको छ ।बिद्यालयमा आयोजित दुई दिने शैक्षिक मेला विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।
शैक्षिक मेलाको पहिलो दिन प्ले ग्रुप देखि कक्षा तीन सम्मका विधार्थी केन्द्रित विविध कार्यक्रमहरु तथा विभिन्न विधामा पुरस्कार वितरण सम्पन्न भएको थियो भने शैक्षिक मेलाको दोश्रो दिन कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार-२०८१ र खेल महोत्सव-२०८२ को पुरस्कार वितरण तथा कक्षा ४ र ५ का विद्यार्थीहरु बीच प्रतियोगितात्मक रुपमा आफूले पढेका पाठ समीक्षा, आफैले रचना गरेका कविता वाचन प्रतियोगिता र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु बीच आफुहरुले अध्ययन गरेका उपन्यास, नाटक, जीवनी जस्ता पुस्तकहरुको समीक्षा प्रस्तुतिलाई तथा आफैले विभिन्न शीर्षकमा रचना गरेका कविता वाचनलाई तहगत रुपमा प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिएको थियो ।
शैक्षिक मेलाको अर्को आकर्षणको केन्द्र बनेको थियो अन्तर सदनात्मक ब्राह्मण, नेवार, मगर र थारु जातिको संस्कृति, रहनसहन, भेषभूषा, खानपिन आदि झल्काउने प्रस्तुति जसमा ग्रीन हाउस प्रथम, ह्वाइट हाउस द्वीतिय, रेड हाउस तृतीय र एल्लो हाउसले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
संस्कृतिक प्रस्तुति अन्तर्गत व्राह्मण संस्कृतिको प्रस्तुतिबाट प्रभावित भइ अभिभावक प्रेम भट्टराई (जनप्रेमी) ले ह्वाईट हाउसका कलाकारहरुलाई हौसला स्वरुप नगद रु.२५०५/- पुरस्कार प्रदान गर्नुभयो। शैक्षिक मेलाको अर्को कारुणिक सन्देश दिने प्रस्तुति थियो नाटक ' स्वदेश कि विदेश ?' जसमा सर्बोत्कृष्ट अभिनयको लागि कक्षा ९ की छात्रा निधि सेवा, भेषभूषाको लागि कक्षा ९ कै बिवेक पाण्डे र डायलगको लागि कक्षा ७ का सुलभ भण्डारीलाई पुरस्कृत गरिएको थियो ।
शैक्षिक मेलामा विद्यालयमा क्रियाशील वालक्लवको सक्रियतमा आफ्नै नामबाट प्रकाशन हुँदै आएको भित्ते पत्रिकाको ५३औं संस्करणको विमोचन गरिएको थियो । यस भित्ते पत्रिकाको विशेषाङ्कको रुपमा हाम्रो शान्तिभूमि चौतारीको अर्ध-बार्षिक बुलेटिन प्रकाशन भइरहेको छ । शैक्षिक मेलालाई विद्यार्थीहरु द्वारा निर्मित विज्ञान प्रदर्शनी तथा चित्रकला प्रदर्शनीले आकर्षण थपेका थिए । 
विद्यार्थीहरुमा पठन संस्कृति तथा श्रृजनात्मक कलाको विकास गर्ने उद्देश्यले आयोजित उक्त शैक्षिक मेलामा पुस्तक मेलालाई समेत जोडिएको थियो जसमा विशेषगरी कार्यक्रमको अन्त्य तिर आफूलाई मनपर्ने पुस्तक रोज्न अभिभावक तथा विद्यार्थीहरुको घुइचो देखिन्थ्यो ।




शैक्षिक मेलाको दोश्रो दिनको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलानन्द पाण्डेको अध्यक्षता, शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रामलाल श्रेष्ठको प्रमुख आतिथ्यता, नेपाली विषय शिक्षक बिमला नेपालको स्वागत तथा शैक्षिक संयोजक रोमञ्च पुनको संचालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)