बुटवल,फागुन १ ।
रुपन्देही जिल्लाका विद्यालयहरूबीच अन्तरविद्यालय लोकगीत नृत्य प्रतियोगिता आयोजना भएको छ। बुटवल एक्स आर्मी इङ्ग्लिस सेकेन्डरी स्कुलको आयोजनामा विद्यालय परिसरमै उक्त प्रतियोगिता सञ्चालन भएको हो।
प्रतियोगितामा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका तथा तिलोत्तमा नगरपालिकाभित्रका २१ वटा विद्यालयहरूको सहभागिता रहेको थियो । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइने यस कार्यक्रमले नेपाली लोकसंस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको विद्यालयका प्रचार्य शंकर भट्टराइले बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता बुटवल एक्स आर्मी इङ्ग्लिस सेकेन्डरी स्कुलका अध्यक्ष क्याप्टेन दिलबहादुर पुनको रह्यो भने प्रमुख अतिथिका रूपमा प्याब्सन बुटवलका अध्यक्ष श्री मित्रहरि आचार्यको उपस्थिति छ। कार्यक्रमको सम्पूर्ण समन्वय विद्यालयका प्रधानाध्यापक भट्टराइले उपस्थित अतिथिहरू, शिक्षक–शिक्षिका तथा सहभागी विद्यार्थीहरूलाई कार्यक्रमको उद्देश्य र समयतालिकाबारे संक्षिप्त जानकारी गराउनुभयो ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु. १५ हजार, द्वितीयलाई रु. १० हजार तृतीयलाई रु. ७ हजार तथा सान्त्वना पुरस्कारस्वरूप रु. ३ हजार प्रदान गरिएको छ । साथै, सबै सहभागीहरूलाई सहभागिता प्रमाणपत्र वितरण गरिएको छ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षिका मिस लक्ष्मी थापा र मिस सगुन क्षेत्रीले संयुक्त रूपमा गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)