बुटवल,माघ २५ ।
देशमा शान्ति स्थापना, विश्व शान्तिको कामना तथा मानव कल्याणका लागि बुटवल–१३ स्थित जितेश्वरी दुर्गा मन्दिर परिसरमा भविष्य पुराण तथा धन्याञ्चल महायज्ञ सुरु भएको छ । जितेश्वरी दुर्गा मन्दिर व्यवस्थापन संस्था, रूपन्देहीको आयोजनामा सञ्चालन भइरहेको महायज्ञले धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
आयोजकका अनुसार वैदिक सनातन धर्मको संरक्षण, पितृमुक्ति तथा विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो। यस क्रममा श्रीमद्भागवत विराट ज्ञान १०८ महायज्ञ तथा १८ पुराण वाचनसमेत हुने जनाइएको छ।
महायज्ञको शुभारम्भका अवसरमा ६०० केजी तामाबाट निर्माण गरिएको आठ फिट अग्लो ताम्र मूर्तिलाई विराजमान गराउँदै कलश यात्रासहित धार्मिक विधिअनुसार कार्यक्रम थालिएको हो। काठमाडौंस्थित पशुपतिनाथ मन्दिरबाट प्रारम्भ भएको धार्मिक यात्रा माघ २५ गते जितेश्वरी दुर्गा मन्दिरमा आएर सम्पन्न भएको थियो।
माघ २५ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने महायज्ञ अवधिभर दैनिक पूजापाठ, हवन, पाठ पारायण, आरती, कथा वाचन, भजन–कीर्तन, सम्मान कार्यक्रम तथा सांस्कृतिक प्रस्तुतिहरू गरिने आयोजकले जनाएको छ। आयोजक संस्थाले धार्मिक कार्यक्रममा सहभागी भई पुण्य आर्जन गर्न सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)