बुटवल,माघ १८ ।
भगवान राधाकृष्ण मन्दिर निम बार्क आश्रम त्रिवेणी धाम नवलपुरको २९ औं वार्षिक साधारणसभा त्रिवेणी धाममा शनिबार सम्पन्न भएको छ।
श्री राधाकृष्ण मन्दिरका पिठाधिस हरिशरण उपाध्यायको अध्यक्षता तथा मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यको उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि प्रपन्नाचार्यले त्रिवेणी क्षेत्रमा बढ्दै गएको बेथितिलाई नियन्त्रण गर्न सबै पक्षको सक्रिय सहयोग रहनुपर्ने बताउदै हिन्दु धर्मको रक्षाको लागि सम्पुर्ण हिन्दु धर्मावलम्बी ओमकार परिवार अभियान कै रुपमा अगाडि बढ्नुपर्ने जिकिर गर्नुभयो। उहाँले त्रिवेणी धाममा रहेको २ दर्जन मठमन्दिरहरु मध्ये केही मन्दिर गैरकानुनी रुपमा रहेकोमा ती मन्दिरहरुले पनि नियमित रुपमा साधारणसभा कानुन बमोजिम लेखा परीक्षण गरि सार्वजनिक गर्नुपर्ने सुझाव दिनुभयो।
साधारणसभामा त्रिभुवन क्याम्पस बेलाटारीका पूर्व क्याम्पस चिफ सत्यदेव पाण्डेले संस्कार र संस्कृती जोगाउन त्रिवेणी धाममा रहेका ठुला मन्दिर र पिठाधिसहरुले नेतृत्व लिइ अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो।
कार्यक्रममा कोटीहोम समितिका अध्यक्ष मोतीलाल उपाध्याय, समाजसेवी वीर बहादुर ठकुरी, चिरञ्जीवी ढुंगाना,भगवान राधाकृष्ण मन्दिरका उत्तराधिकारी स्वामी ध्रुवशरण ढुंगाना,सञ्चारकर्मी आर.पि. उपाध्याय लगायतले कार्यक्रमको लक्ष्य र उद्देश्य सहित मन्दिरको गतिविधि माथि प्रकाश पार्नुभएको कार्यक्रम सञ्चालक एवं समितिका सचिव खेमराज न्यौपानेले जानकारी दिनुभयो।
साधारणसभामा समितिका कोषाध्यक्ष ऋषि केशव उपाध्यायले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति सहितको विवरण सार्वजनिक गर्नुभएको थियो।
२०५३ सालमा स्थापना भएको भगवान राधाकृष्ण मन्दिरमा हाल १०२ जना साधारण सदस्य रहेको बताइएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)