बुटवल,माघ ५ ।
संयुक्त ईरिक्सा संघर्ष समिति बुटवलले बुटवल उपमहानगरपालिकाको निर्णय विरुद्ध आन्दोलन गर्ने भएको छ ।
संयुक्त ईरिक्सा संघर्ष समितिले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी ईरिक्सा सम्बन्धी कार्यविधि विपरित पुनः रिक्सा थप गर्न लागेको भन्दै त्यस निर्णय विरुद्ध आन्दोलन गर्ने बताएको हो ।
उपमहानगरपालिकाले २०७६ सालमा ईरिक्सा सम्बन्धी कार्यविधि तयार पार्दा १ हजार १८ रिक्सा सूचिकृत गर्ने उल्लेख थियो । पछि ०७८ सालमा संसोधन गरेर ४२२ वटा ईरिक्सा थप गरी १ हजार ४४० रिक्सा दर्ता गर्ने निर्णय गरेको थियो ।
तर उक्त निर्णय कार्यान्वयन गर्नुको सट्टा पुन ६० वटा ईरिक्सा थप गर्ने निर्णय उपमहानगरपालिकाले गरेको भन्दै समिति आन्दोलनमा उत्रिएको हरियाली यातायात प्रा.लीका अध्यक्ष एवं संघर्ष समितिका संयोजक कृष्णप्रसाद तिवारीले बताउनुभयो ।
उहांले दर्ता भई नियमित कर तिरिरहेका ईरिक्सा पेशाकर्मीलाई विभिन्न बाहनामा दुःख दिने तर दर्ता नभएको ईरिक्सालाई सञ्चालनमा रोक लगाउन उपमहानगरपालिकाले तदारुपता नदेखाएको बताउनुभयो ।
उहांले विगतमा भएका सांझा निर्णयहरुलाई वेवास्ता गर्दै तीन पांग्रे सवारी सम्बन्धी ऐनलाई एकल रुपमा पारित गरेको भन्दै उक्त निर्णय स्वरोजगार मजदुरको हित विपरित रहेको बताउनुभयो । साथै उहांले दर्ता नभएका र रुट ईजाजत नलिएका रिक्साहरुलाई उपमहानगरपालिकाले सञ्चालनमा प्रतिबन्ध लगाउनुपर्ने बताउनुभयो ।
उहांले हालै निर्माण गरिएको ऐनबाट ईरिक्सा नामसारी सवारी चालक अनुमती पत्र भएका व्यक्तिहरुको हकमा मात्र गरिने, एक व्यक्ति, एक ईरिक्सा मात्र दर्ता तथा नविकरण गर्न पाउने व्यवस्था खारेज गर्न समेत माग गर्नुभयो । उहांले पहिलो चरणमा ध्यानआर्कषण गराउने र यदि माग सुनुवाई नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)