काठमाडौँ,माघ २ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोगमा बुझाउनु भएको छ। बुधबार राति सम्पन्न विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोग पुगेर सभापति थापासहित कांग्रेस पदाधिकारी निर्वाचन आयोग पुग्नु भएको हो।
सभापति थापाले विशेष महाधिवेशनको बारेमा जानकारी सहितको दस्तावेज कार्यवाहक मुख्य निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाउनु भएको हो।
आयोगमा पत्रकारसँग छोटो कुराकानी गर्नु हुँदै थापाले आफूहरूले विधान अनुसार नै विशेष महाधिवेशन गरेको दाबी गर्नु भएको छ।
यसअघि थापा नेतृत्वको कार्यसमितिको पहिलो बैठक समेत आजै सम्पन्न भएको छ ।ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले विशेष महाधिवेशनका निर्णयको बारेमा आजै निर्वाचन आयोगमा जानकारी गराउने नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।
बैठकमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।गत पुस २७ गतेदेखि जारी विशेष महाधिवेशन पक्षधरको आह्वानमा भएको महाधिवेशनले आजै बिहान उहाँको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो ।
यसैसन्दर्भमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको विधान उल्लङ्घन हुनेगरी कामकाज गरेको भन्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीबाट निष्काशन गरेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)