बुटवल,पुस २५ ।
थारु समुदायको नयाँ वर्ष २६४९ अर्थात माघे सक्रान्ती पर्वको अवसरमा बुटवलमा माघी (खिचडी) महोत्सव हुने भएको छ ।
थारु कल्याणकारिणी सभा बुटवलको मुल आयोजना तथा थारु समाज बुटवल र थारु संस्कृति संरक्षण समिति बुटवल १७ को आयोजनामा रानीगञ्जमा दुई दिने महोत्सवको आयोजना गर्न लागिएको हो ।
नयाँ वर्षको पुर्व सन्ध्यामा थारु कला संस्कृतिको संरक्षण गर्दै दुई दिन महोत्सव गर्न लागिएको आयोजकले मेला सचिबालयमा आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जमा पौष २६ र २७ गते खेलकूद तथा साँस्कृतिक कार्यक्रम सहित नयाँ वर्षको स्वागत गर्दै महोत्सव आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष कृष्णबहादुर चौधरीले जानकारी दिनु भयो ।
हिलो दिन शनिबार रक्तदान तथा खेलकूद गतिविधि सञ्चालन गरिने छ भने दोश्रो दिन बृहत्त थारु सांस्कृति कार्यक्रमको आयोजना गरिएको उहाँले जानकारी दिनु भयो ।
थारु परम्पराका करिब एक दर्जन फूडस्टलसहित आयोजित कार्यक्रममा महिलाहरु बीच ढकिया दौड, पुरुषहरुका बीच धोती दौड, कुर्सी दौड, रस्साकस्सी लगायतका मनोरञ्जनात्मक खेल खतिविधि सञ्चालन गरिने थारु समाज बुटवलका अध्यक्ष ओमप्रकाश चौधरीले जानकारी दिनु भयो ।
थारु समुदायको पहिचान, परम्परा र सँस्कृति बारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा मयुर नाच, झुम्रा नाच तथा झर्रा नाच प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।यस्तै चर्चित थारु कलाकार अन्जु कुश्मी, डान्सर सजिना चौधरी लगायतको प्रस्तुती रहने छ ।
थारु परिकार ढिकरी, घोँगी, माछागायतका स्वादसहितको स्टल रहने छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)