बुटवल,पुस २५ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायमैत्री वातावरण बनाउने जिम्मेवारी राज्यको भएको बताउनुभएको छ ।
भदौ २४ गते आन्दोलनको नाममा उद्योग, व्यवसाय तथा होटलहरूमा आगजनी गरी व्यवसायीको मनोबल गिराएको घटनाले प्रदेशको व्यावसायिक वातावरण समेत प्रभावित बनेको भन्दै उहाँले यसमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभएको हो ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको ९ औं वार्षिक साधारणसभाको बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले शान्ति सुरक्षा र लगानीको संरक्षण व्यवसायिक वातावरणको आधार भएको बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण होटल व्यवसायमा ठूलो लगानी भए पनि नियमित उडान सञ्चालन नहुँदा व्यवसाय प्रभावित भएको उल्लेख गर्दै उहाँले यसका लागि प्रदेश सरकारले संघीय सरकारसँग निरन्तर माग राख्दै आएको जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले रोजगारी र्सिजना गरेर युवालाइ देशमै रोक्नुपर्ने र सीपलाइ पहिलो प्राथमिकता दिनुपर्र्ने बताउनुभयो । महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक लक्ष्मण पोखरेलले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीले हजारौँको संख्यामा रोजगारी सिर्जना गरेको बताउनुभयो ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी महासंघका अध्यक्ष तेवीन्द्ररत्न शाक्यले सरकारको दृष्टि बदलिनुपर्ने बताउनुभयो ।। निवर्तमान अध्यक्ष लिला जिसिले कृषिप्रदान देश नेपालमा कृषिकै बस्तुप्रयोग गर्ने पार्टी प्यालेस र क्याटरिङ ब्यवसायीमैत्री निति सरकारबाट बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा ईभेन्ट एण्ड भेलुएसन नेपाल (ईभा नेपाल) का उत्तम प्रकाश शर्मा, महासंघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पाण्डे ,नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे लगायतले बोलेका थिए । महासंघमा हाल देशभर ७ हजार ब्यवसायीहरु छन।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)