काठमाडौं, पुस २२ ।
काठमाडौँको गैरीगाउँमा एक काठ गोदाममा लागेको आगो करिब एक घण्टापछि पूर्ण नियन्त्रण आएको छ । काठमाडौं महानगर प्रहरीका अनुसार आधा दर्जन बढी दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो ।
आगो निभाउन काठमाडौं महानगरपालिकाको चारवटा सहित ललितपुर महानगरपालिका र त्रिभुवन विमानस्थल लगायत क्षेत्रबाट दमकल आएका थिए ।
काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन विभागका प्रमुख नगर प्रहरीका एसपी विष्णु जोशीका अनुसार आगलागीबाट मुख्य गरी लोयला सेकेन्डरी स्कुलको एउटा भवन र काठको गोदाममा क्षति पुगेको छ । ‘आगो नियन्त्रण गर्ने र सामानहरू सार्ने क्रममा त्यसबाहेक वरिपरिका केही अन्य सामग्रीमा पनि सामान्य टुटफुट भएको छ,’ उनले भने ।
कसरी लागेको थियो आगो ?
महानगरको विपद् व्यवस्थापनको टोलीले लिएको प्रारम्भिक जानकारीका अनुसार जाडो छल्नका लागि दाउरा बालेर आगो ताप्ने क्रममा अचानक यताउता सल्किएर आगो लागेको हो ।
घटनाको जानकारी दिँदै विपद् व्यवस्थापनका एक सदस्यले भने, ‘दाउरा बालेर आगो ताप्ने क्रममा असावधानीवश आगो सल्किएर पहिला काठको गोदाममा पुगेको रहेछ । त्यसपछि विद्यालयको भवनमा सरेको देखिन्छ ।’ उनका अनुसार काठको गोदामबाट ह्वात्तै आगो स्कुलतिर गएको हो ।
‘हामीले यहाँका स्थानीयसँग बुझ्दा पनि काठको गोदाममा आगलागी हुने बित्तिकै ह्वात्तै फैलिएको देखिन्छ । फेरि स्कुलको भवन प्रिफ्यापले बनेको हुँदा टिपिहालेछ,’ नगर प्रहरी उपरीक्षक विष्णु जोशीले भने, ‘अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)