Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बाँकेमा तेलहन बालीको उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बालीको उत्पादन घट्दो क्रममा

  • 582
    SHARES

  • बाँकेमा तेलहन बालीको उत्पादन घट्दो क्रममा

    बाँके,मंसिर २१ ।

    बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै गएपछि बर्सेनि उत्पादन घट्दो क्रममा छ । 

    तेलहन बालीअन्तर्गत जसोतसो तोरीखेती गरे पनि अन्य खेतीको क्षेत्रफल घट्दै जाँदा त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष पाठकले बताए ।

    उनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बाँकेमा छ हजार ५३० हेक्टर क्षेत्रफलमा गरिएको तोरीखेतीबाट पाँच हजार ६४८ मेट्रिक टन उत्पादन भएको थियो । यो उत्पादन अघिल्लो आवको तुलनामा १४ दशमलव ४१ प्रतिशत कमी हो ।

    बाँकेमा तेलहन बाली कुल सात हजार २५६ हेक्टरमा हुँदै आएको छ । तोरीबाहेक सर्सो, रायो, सूर्यमुखी, तिल, बदाम र आलसखेती गरिने भए पनि क्षेत्रफल र उत्पादन अत्यन्त न्यून छ ।

    किसानले खेती गर्ने क्षेत्रफल घट्दै गएर हाल सर्सो ३५ हेक्टर, रायो १५ हेक्टर, सूर्यमुखी एक हेक्टर, तिल १५ हेक्टर, बदाम ६१५ हेक्टर र आलस ४५ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सूचना अधिकारी पाठकले जानकारी दिए । उनले हिउँदे वर्षा नहुनु र बीउ प्रतिस्थापन दर न्यून हुँदा तोरीखेतीको उत्पादन घट्दै गएको उल्लेख गर्दै किसान तोरीबाहेक अन्य तेलहन बालीतर्फ आकर्षित हुन नसकेको बताए ।

    नेपालगन्ज–२२ का अगुवा किसान चक्र बुढाले उत्पादनको यो निरन्तर गिरावटलाई रोक्न किसानलाई बढी उत्पादन दिने र तेलको मात्रा राम्रो हुने उन्नत जातका बीउ उपलब्ध गराउनु, सिँचाइको व्यवस्थापनमा सुधार ल्याउनु र अन्य तेलहन बालीको महत्वबारे सचेत गराउनु आवश्यक रहेको बताए । 

    तेलहन बालीको उत्पादनमा आएको यो गिरावटले गर्दा तेलको आयातमा निर्भरता बढ्ने र स्थानीय बजारमा तेलको मूल्यमा असर पर्ने भएकाले बाँकेमा तेलहन बालीको खेतीलाई प्रोत्साहन गर्न स्थानीय र प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र किसानलाई आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology