बुटवल,मंसिर १५ ।
‘अवरोधहरू पार गरौं, एड्स प्रतिकार्य रुपान्तरण गरौं’ भन्ने नाराका साथ ३८ औं विश्व एड्स दिवसमा बुटवलमा अन्तरक्रिया गरिएको छ । यो दिवस १ डिसेम्बरमा नेपालसहित विश्वभरि मनाउने गरिन्छ ।
एएचएफ नेपालको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको समन्वयमा बुटवलमा अन्तरक्रिया गरिएको हो ।
सो कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा थापाले रुपन्देही जिल्लाको एचआईभी एड्सको अबस्था ,नयाँ दर, मृत्यु भएको संख्या ,परिक्षण तथा उपचारको बारेमा जानकारी गराउनुभयो ।
उहाले रुपन्देहीमा १ हजार ४ सय ५३ जना संक्रमित रहेको र नयाँ १५३ जना पत्ता लागेको बताउनु भयो । उहाले गत बर्षको तुलनामा संख्या घटेको र उपचार पनि राम्रो रहेको बताउनु भयो । रुपन्देहीमा आर्थिक बर्ष २०७९-०८० मा १ सय ८३, आर्थिक बर्ष २०८०-०८१ मा १ सय ५६ र आर्थिक बर्ष २०८१-०८२ मा १ सय ५३ जना संक्रमित भेटिएका छन् ।२०८२ साउनदेखि असोजसम्ममा ३५ जना भेटिएका छन् ।
‘रुपन्देहीको बुटबलमा सबैभन्दा बढी ३४० र ओमसतियामा २४ जना छन् । थापाले भन्नुभयो – गरिबी, स्वास्थ्य सेवामा पहुँचको कमी, पहुँच भएका पनि स्वास्थ्य संस्थामा नजाने प्रवृत्ति, सेवा लिन गएकाको पनि समयमै उपचार नहुनु जस्ता कारणले पनि एचआइभी एड्स नियन्त्रण हुन सकेको छ ।’
नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिंगी तथा तेस्रो लिंगी र रोजगारका लागि विदेशिने तथा तिनका दम्पती एवं जेलमा रहेका कैदीका लागि एचआईभी उच्च जोखिम रहेको उहाले बताउनु भयो ।
नेपालमा सन् २०३० सम्ममा एड्स तथा एचआईभी निर्मूल गर्ने सरकारको लक्ष्य रहेको र अनुमानित एचआईभी सङ्क्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून गर्ने योजना अनुसार जिल्लाले पनि काम गरिरहेको बताउनुभयो ।
अन्तरक्रियामा एएचफ नेपालका लुम्बिनी प्रदेश संयोजक धर्मराज भट्टराईले लुम्बिनी प्रदेशको अबस्था लुम्बिनी प्रादेशिक अस्पतालबाट दिइएको सेवा उपचारमा आउने बिरामी तथा सेवा दिदा भएको समस्याको बारे जानकारी गराउनु भयो । उहाले नेपालमा एचआईभी संक्रमणको मुख्य कारण असुरक्षित यौन सम्पर्क देखिएको तथ्याकं रहेको बताउनुभयो ।
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका एचआईभी फोकलप्रशन टिकाराम अधिकारीले एचआईभी सङ्क्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून गर्ने योजना अनुसार पालिकाले पनि सहकार्य गर्दे आएको बताउनुभयो । उहाले सकारात्मक तरीकाले यसलाई प्रचार गरि सरकारको लक्ष्य अनुसार निमुल पार्नको लागी सबैको साथ सहयोग आबश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल एआरटी फोकल प्रसन भिम ज्ञवालीले एचआईभी संक्रमित माथि अझै समाजमा लाञ्छना र भेदभाव कायमै रहेकाले जनचेतना जगाउन आवश्यक रहेको वताउनु भयो ।
रिता सेनले एचआईभी भनेको अन्त्य होइन, जीवनको एक नयाँ सुरुवात भनेर बुझाउन जरूरी रहेको बताउनु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)