Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

भैरहवामा सातौं लुम्बिनी महोत्सव–२०८२ शुरु

भैरहवामा सातौं लुम्बिनी महोत्सव–२०८२ शुरु

  • 897
    SHARES

  • भैरहवामा सातौं लुम्बिनी महोत्सव–२०८२ शुरु

    भैरहवा,मंसिर ३ ।

    रुपन्देहीको भैरहवामा बुधबारदेखि सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सुरु भएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा महोत्सव सुरु भएको हो ।

    ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुने चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले बताउनुभयो ।

    महोत्सवले उद्योगी–व्यवसायी र उपभोक्तालाई जोड्न पुलको काम गर्ने अध्यक्ष रोक्काले बताउनुभयो । उहाँले महोत्सवमा झण्डै ३ सय वटा स्टल रहेको जानकारी दिनुभयो । ‘महोत्सव सञ्चालनका लागि अस्थायी संरचना निर्माणमा करोडौं रुपैयाँ खर्च हुने गरेको छ, ’उहाँले भन्नुभयो–‘भैरहवामा स्थायी मण्डप आवश्यक छ । महोत्सवलाई अझै परिमार्जन र परिस्कृत गर्दै अघि लैजानुपर्ने आवश्यकता छ ।’

    महोत्सवको बुधबार एक समारोहकाबीच लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय र सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।सो अवसरमा बोल्नुहुँदै मन्त्री पाण्डेयले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रले गरेको बताउनुभयो ।

    उहाँले अहिलेसम्म सबैभन्दा पीडित उद्योगी–व्यवसायी रहेको बताउनुभयो । ‘नेपाललाई पर्यटन क्षेत्रको माध्यमबाट नै आर्थिक समृद्धितर्फ लैजान सकिन्छ, ’उहाँले भन्नुभयो–‘नेपाललाई पर्यटनको देश प्रकृतिले नै बनाइदिएको छ । आर्थिक समृद्धिको आधार पर्यटन हो ।’ पर्यटकलाई सहज रुपमा भित्र्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । ठाउँठाउँमा चेकिङका नाममा पर्यटकलाई दुःख दिन नहुने मन्त्री पाण्डेयको भनाइ छ ।

    उहाँले मेला महोत्सवका बेला मात्रै स्थायी मण्डपका कुरा नगर्न आग्रह गर्दै स्थानीय सरकारले जग्गाको खोजी गरे प्रदेश सरकारले मण्डप निर्माणका लागि बजेट बिनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    त्यस्तै संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले सिद्धार्थनगर, रोहिणी, ओमसतिया, मायादेवी र सियारी मिलेर उपमहानगरपालिका÷महानगरपालिका बनाउनुपर्ने बताउनुभयो । उहाँले आर्थिक मन्दीको बेला पनि चेम्बर अफ कमर्श, रुपन्देहीले महोत्सवको आयोजना गर्ने हिम्मत गरेर अन्य उद्योगी–व्यवसायीलाई उर्जा प्रदान गरेको बताउनुभयो । उहाँले वर्तमान सरकार सचेत भएर जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

    लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.) ले स्थानीय बजार प्रवद्र्धनका सामान स्थानीय बजारमा नै खरिद गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योगी–व्यवसायीका मर्का बुझ्ने गरी सरकारले निर्णय गर्नुपर्ने बताउनुभयो । स्थायी मण्डपका लागि आफूले पहल गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले निजी क्षेत्र समस्यामा रहदारहदै पनि आँट र हिम्मतका साथ महोत्सव सञ्चालन गर्नु सराहनीय रहेको बताउनुभयो । उहाँले भदौ २३ र २४ गतेको घटनाका कारण अर्थतन्त्रमा समस्या आएको बताउनुभयो ।

    नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले हरेक आन्दोलनको पहिलो शिकार निजी क्षेत्र हुने गरेको बताउनुभयो । उहाँले महोत्सवले सार्थक पहिचान दिनुपर्नेमा जोड दिनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले आन्दोलनको नाममा निजी संस्थामाथि प्रहार गरिएको बताउनुभयो । उहाँले यस्तो कठिन अवस्थामा पनि निजी क्षेत्रले महोत्सव सञ्चालन गरेर सबैतिर निराशा छाएको बेला आशा जगाउन खोजेको बताउनुभयो ।

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले मेलालाई अझ व्यवस्थित गर्न स्थायी मण्डप आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता महोत्सवले आर्थिक क्षेत्र चलायमान बनाउन सहयोग गर्ने बताउनुभयो ।

    चेम्बर अफ कमर्श, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले संस्था स्थापनाकालदेखि नै उद्योगी–व्यवसायीको हकहितसँगै अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने महोत्सव सञ्चालन गर्दै आएको बताउनुभयो ।

    चेम्बर अफ कमर्श, रुपन्देहीका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । महोत्सवको उद्घाटन समारोह अघि भैरहवाको देवकोटाचोकदेखि औद्योगिक जनचेतना ¥याली निकालिएको थियो ।

    उक्त ¥याली बैंकरोड, मिलनचोक, नारायणपथ, बुद्धचोक हुँदै अञ्चलपुर (महोत्सवस्थल) मा पुगेर समापन भएको संस्थाका सचिव कृष्ण प्रसाद पाण्डेले बताउनुभयो । ¥यालीमा विभिन्न संघ–संस्था तथा विद्यालयहरुको सहभागीता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology