बुटवल,मंसिर ३ ।
पेशा र बाध्यताले थातथलो छाडेर जानेहरुमध्ये कमैले आफ्नो गाउँको सम्झना गर्छन् । तर कलाकार बुद्धिराज बस्याल यसका अपवाद हुन् । नेपाल सरकारको उपसचिव पदमा रहेका बस्याल भने गाउँलाई नै चिनाउने गरी सांगितिक कोशेली लिएर आएका छन् ।
महालेखापरीक्षक कार्यालयमा निर्देशक पदमा कार्यरत बस्यालको गाउँ हो स्याङ्जा जिल्ला, विरुवा गाउँपालिका–४ घोप्टे । त्यहीको कथा समेटिएको लोकगीत ‘गाउँघरको माया’ युटुबमा सार्वजनिक भएको छ । बस्यालले आफ्नै नामको युटुब च्यानलमा अलपलोड गरेको गीतले चर्चा बटुलेको छ ।
गाउँ र घरप्रति मानवीय भावना र माटोप्रतिको मोह समेटिएको यस गीतमा समाजका वर्तमान यथार्थहरू चित्रण गरिएको छ ।
बुद्धिराज बस्याल र सम बस्यालको स्वरमा रहेको गीतको लय र शब्द संयोजन बुद्धिराज बस्याल र अर्जुन थापा मगरले गरेका हुन् । यसका गीतका एरेञ्जर पनि अर्जुन थापा मगर नै हुन् । अभिनयमा बुद्धिराज र सम बस्याल देखिएका छन् भने डाईनामिक रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।
‘गाउँ खालि छ, घरहरू खण्डहर छन्’ भन्ने भावबाट सुरु हुने गीतमा बाध्यताले गाउँ छोडी शहर र विदेश जानुपर्ने वर्तमान सामाजिक अवस्थाको चित्रण गरिएको छ । गीतले गाउँको माया, पाखा–पधेरा, खोला–नाला, पौडी खेल्ने बाल्यकालका सम्झना र मेलापात गर्ने गाउँजीवनका भावनात्मक पक्षलाई उजागर गरेको छ ।
स्याङ्जा जिल्ला, विरुवा गाउँपालिका–४ घोप्टेको कथा समेटिएको यस गीतले जहाँ भए पनि गाउँ नबिर्सौं र गाउँलाई माया गरौं भन्ने सन्देश दिएको छ ।
बस्याल संगीत प्रेमी हुन् । उनको बाँसुरी बाधनमा राम्रो दख्खल छ । 'सानैदेखि नै बाँसुरी बजाउन रुचि जाग्यो, उनी भन्छन-'सबै खालका बाँसुरीको धुनमा रमाईलो लाग्छ ।'
बाँसुरीमा उनको लगाव उनले बोक्ने बाँसुरीको मुठ्ठोले नै जनाउँछ । बाँसुरी संगै लिएर हिड्ने उनी फुर्सदमा धुनमा रमाउँछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)