बुटवल,मंसिर १ ।
विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम) नेपालले रुपन्देहीको देवदह नगरपालिकाको लागि आपतकालिन विपद् व्यवस्थापन कोष कार्यविधि निर्माण गरि हस्तान्तरण गरेको छ । सिडिएम नेपालले देवदहमा सञ्चालन गरेको समुदाय उत्थानशिल परियोजनाको समीक्षा कार्यक्रममा आपतकालिन विपद् व्यवस्थापन कोष कार्यविधि विमोचन गर्नुको साथै नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
त्यसैगरी आपतकालिन कोषमा १ लाख रुपैंया प्रदान गरिएको छ । विपद्को क्षेत्रमा काम गर्दै आएको सिडिएम नेपालले कारितास नेपाल र स्पोनोलाको आर्थिक सहयोग देवदह नगरपालिकाको समन्वयमा वडा नं. ३ र ६ मा एक वर्षे समुदाय उत्थानशिल परियोजना सञ्चालन गरेको थियो ।
विपन्न र विपद्को जेखिममा परेकालाई स्थानीय बन पैदावारबाट प्राप्न हुने कच्चा पदार्थमा आधारित उद्यम, टनेलमा प्राङ्गारिक नर्सरी तथा तरकारी खेती, प्राङ्गारिक मल उत्पादन लगायतका स्वरोजगार उद्यम तथा जिविकोपार्जनमा २२० जना किसानलाई जोडिएको सिडिएम नेपालका कार्यकारी निर्देशक धर्मराज घिमिरेले जानकारी गराउनु भयो । त्यसका लागि २ वटा वडामा ९ वटा समुह गठन गरि काम गरिएको हो ।
सिडिएम नेपालले छोटो अवधिमा उपलब्धिमुलक काम भएको औंल्याउँदै समिक्षा कार्यक्रमका सहभागिहरुले किसान सक्षम नहुँदासम्म परियोजनालाई निरन्तरता दिन आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्राप्त आपतकालिन विपद व्यवस्थापन कोष कार्यविधि अध्ययन गरि आवश्यक परे संशोधन गर्ने र कार्यपालिकाबाट पारित गरेर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सिडिएम नेपालले सञ्चालन गरेको परियोजना किसानका लागि अति उपयोगि रहेकाले यो परियोजनामा जोडिएका किसान पूर्ण सक्षम नहुँदासम्म परियोजनालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले सिडिएम नेपालले तयार गरेर नगरपालिकालाई प्रदान गरेको आपतकालिन विपद व्यवस्थापन कोष कार्यविधि कार्यपालिकाले पारित गरेपछि मात्रै कार्यान्वयनमा आउने भएकाले त्यस अगाडि त्यसको अध्ययन र आवश्यक परेका ठाउँमा संशोधन भएपछि मात्रै कार्यपालिका बैठकमा पेस हुने जानकारी गराउनु भयो ।
उहाँले त्यसरी कार्यपालिकाले पारित गरेमा मात्रै कार्यान्वयमा आउने बताउनु भयो । उहाँले पनि समुदाय उत्थानशिल परियोजना सोचेभन्दा राम्रो भएको बताउँदै परियोजनाको समयावधी थप गर्न र समुहमा नजोडिएका किसानलाई जोडेर जीविकोपार्जनमा सहभागि गराउन तथा अन्य वडाहरुमा समेत परियोजना सञ्चालन गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी सिडिएम नेपालका महासचिव गंगा सापकोटा,देवदह वडा नं. ३ का अध्यक्ष यज्ञप्रसाद अर्याल, ६ का अध्यक्ष खेमबहादुर थापा सहित यो परियोजना मार्फत जीविकोपार्जनमा जोडिएका किसानहरुले समेत किसानलाई पूर्णरुपमा दक्ष नहुँदासम्म निरन्तरता दिन आग्रह गर्नुभएको थियो । त्यस अवसरमा दातृ संस्था कारितास नेपालका रञ्जन सिलवाल र लुम्बिनी प्रदेश संयोजक हरिसिंह कुवँरले समुदायको आवश्यकताका आधारमा यो परियोजनालाई निरन्तरता दिने विषयमा छलफल भईरहेको बताउँदै आफूहरुको तहबाट प्रयास गर्ने बताउनु भयो ।
सिडिएम नेपालका कार्यकारी निर्देशक घिमिरेका अनुसार सिडिएम नेपालले समुदाय उत्थानशिल परियोजना, सुपर २ र अर्वान डि आर आर गरी ३ वटा परियोजना सञ्चालन गरेको छ । त्यसमध्ये अर्वान डि आर आर परियोजना लुम्बिनी प्रदेश सरकारसंगको समन्वयमा सञ्चालन गरिएको छ भने सुपर २ नेपालगञ्ज उपमहानगरपालिका र समुदाय उत्थानशिल परियोजना रुपन्देही जिल्लाका देवदह नगरपालिका सहित मर्चवारी, सम्मरीमायी, सुद्धोदन र सियारी गाउँपालिकामा सञ्चालन गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)