भैरहवा, कार्तिक २७ ।
आगामी मंसिर ३ देखि २१ गतेसम्म रुपन्देहीको भैरहवामा हुने सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) को तयारी तीव्र रुपमा भइरहेको छ ।
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा हुने महोत्सवको ५० प्रतिशत बढी काम भइसकेको संस्थाका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले बताउनुभयो । अध्यक्ष रोक्काका अनुसार मंसिर १–२ गतेसम्म महोत्सवको पूरा तयारी भइसक्नेछ । महोत्सवको तयारीमा ३५ वटा उपसमिति जुटेको उहाँले जानकारी दिनुभयो ।
‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ यो महोत्सव हुँदैछ । यस वर्षको महोत्सवको आकर्षणमा फिस टनेल, जलपरी, आईफील टावर लगायत बालउद्यानको मनोरञ्जन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने उहाँको भनाइ छ ।
अध्यक्ष रोक्काले महोत्सवलाई सफल बनाउन सबैलाई आ–आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो ।लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने र लुम्बिनीलाई यस क्षेत्रको पर्यटकीय आर्थिक पर्यटनको रुपमा विकास गर्ने, परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय, साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन स्वरुप प्रवद्र्धन गर्ने लगायत महोत्वको उद्देश्य रहेको बताउनुभयो ।
चेम्बर अफ कर्म, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका सह–संयोजक दर्पण श्रेष्ठले उद्योगी–व्यवसायीले वार्षिक रुपमा सञ्चालन गर्ने महोत्सव चाडपर्वको रुपमा मनाउँदै आएको बताउनुभयो ।
महोत्सवमा यस क्षेत्रको रैथाने खेलको रुपमा परिचित कुस्ती प्रतियोगिता यसपटक पनि सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । श्रेष्ठका अनसार तीन दिनसम्म सञ्चालन हुने कुस्तीमा महिला पहलमानको पनि सहभागीता रहनेछ ।
संस्थाका वरिष्ठ उपाध्यक्ष तथा स्टल दर्ता व्यवस्थापन उपसमिति संयोजक राम मिलन यादवले महोत्सवमा २५० बढी स्टल रहने जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)