बुटवल,कार्तिक २२।
मानव कल्याण मित्र मञ्च नेपालको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
रुपन्देहीको तिलोत्तमामा केन्द्रिय कार्यालय रहेको उक्त मानव कल्याणको साधारणसभा तथा अधिवेशनको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नु भयो ।
सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाले भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकासमा पनि विशेष ध्यान दिएको बताउनु भयो । समाज समृद्ध हुनका लागि मानवीय विकासको अति आवश्यक भएकाले भौतिक पूर्वाधारको विकास हुँदैमा त्यसलाई विकास भयो भनेर भन्न नमिल्ने बताउनु भयो । उहांले तिलोत्तमा नगरपालिकाले नगर भित्र मानवीय सुचांकको विकासका लागि सक्दो पहल गरि रहेको बताउनुभयो ।
यस्तै मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले आफुहरुले स्थापनाकाल देखि नै समाजमा रहेका विद्यमान कुरीती हटाई समाजमा सद्भावको वातावरण स्थापना गर्नका लागि पहल गर्दै आइरहेको बताउनु भयो ।
संस्थाले महिला, बालबालिका, गरिब, असहाय, अशक्त, अनाथ, अपाङ्ग, बृद्धबृद्धा, दैवी प्रकोपबाट प्रभावितहरुको सेवा गर्ने गरेको अध्यक्ष अर्यालले बताउनु भयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिलबहादुर भट्टराई, ३ का अध्यक्ष कल्याण पौडेल, संरक्षक पुरुषोत्तम भट्टराई, प्रमुख सल्लाहकार टेकबहादुर थापा, सल्लाहकार अम्बिका अर्याल, जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे, महिला विभाग संयोजक पार्वती केसी, कमला पाण्डे लगायतले भनाई राख्नु भएको थियो ।
वि.स. २०७५ चैत्र ९ गते स्थापना भएको मानव कल्याण मित्र मञ्च नेपालले त्यसयता निरन्तर रुपमा प्रवासको विभिन्न स्थानमा अलपत्र, असहाय, विछोड भएका महिला बालबालिका पुरुष बृद्धबृद्धाहरुमा आइपरेका समस्या समाधानमा समर्पित रहेको छ । कार्यक्रम सचिव कविता पन्थीको संचालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)