भैरहवा,कार्तिक १ ।
सरकारले सुनचाँदी व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले करोडौं कर तिर्ने सुनचाँदी व्यवसायीले राज्यबाट सुविधा भने पाउन नसकेको बताए ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर–१३, रुपन्देहीले भैरहवामा आयोजना गरेको दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा व्यवसायीले पछिल्लो समय व्यवसाय सञ्चालनमा चुनौती थपिएको बताए ।
कार्यक्रममा संघका अध्यक्ष राजन विश्वकर्माले देशको आर्थिक विकासमा सुनचाँदी व्यवसायीले योगदान पुर्याइरहेको बताउनुभयो । उहाँले व्यवसाय सञ्चालन गर्दा असुरक्षा, कर प्रणालीमा असुविधा लगायतका विभिन्न चुनौती रहेको बताउनुभयो ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रेम कुमार सेन्चुरीले व्यवसायीलाई बिना बील सुनचाँदी खरीद नगर्न सचेत गराइएको बताउनुभयो ।
लुम्बिनी प्रदेश सुनचाँदी व्यवसायी संघका प्रदेश सदस्य प्रकाशमणि रामदामले सम्पूर्ण प्रमाणहरु हुँदाहुँदै पनि कारोबार गर्दा समस्या आउने गरेको बताउनुभयो । रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदामले बीलसहित सुनचाँदी विक्री गर्न आए के गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले आफूहरु सधै थिचिएको बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले व्यवसायीलाई हेर्न राज्यको दृष्टिकोण नकारात्मक रहेको बताउनुभयो । उहाँले राजस्व तिरेर राज्यलाई समृद्धि बनाउने निजी क्षेत्रको अहम भूमिका रहे पनि राज्यले व्यवसायीलाई सकारात्मक ढंगले हेर्न नसकेको बताउनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले देशमा कुनै संकट पर्दा सुरुमै व्यवसायमा मारमा पर्ने गरेको बताउनुभयो । उहाँले सरकारको निर्णयविरुद्ध सुनचाँदी व्यवसायीले केही महिनाअघि आन्दोलन गरेको बताउनुभयो ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले सरकारी निकायले बेलाबेलामा व्यवसायीलाई दुःख दिने गरेको बताउनुभयो । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले सद्धार्थनगर सुनचाँदी व्यवसायी संघले व्यवसायीको हकहितसँगै सामाजिक कार्य गरेको बताउनुभयो । उहाँले संघको आफ्नै गरिमा र महत्व रहेको बताउनुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले व्यवसायीले कठिन अवस्थामा पनि राज्यलाई सहयोग गर्नुभएको बताउनुभयो । उहाँले व्यवसायीलाई दुःख दिने प्रहरी–प्रशासनको नियत नरहेको बताउनुभयो ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष प्रेम रामदामको स्वागत तथा महासचिव गणेश वि.क.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)