बुटवल असोज ९ ।
विजयादशमीको अवसर पारी जी ट्वान्टी फाईभ क्लब, बुटवलले आयोजना गरेको बुटवल उपमहानगर वाडास्तरीय भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेलअघि शुक्रबार दुई मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शुक्रबार बिहान भएको मैत्रीपूर्ण खेलमा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी भएको छ ।
महासंघले शैक्षिक परामर्श दाता व्यवसायी रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरिमा रोकियो भने दोस्रो हाफमा महासंघका डिबी सुस्लिङले गरेको एक गोलनै निर्णायक बन्न पुग्यो ।
यसैगरी आयोजक जी ट्वान्टी फाईभ क्लब, बुटवल र बैंकरहरुको समूह बीचको मैत्रीपूर्ण खेलमा आयोजक टोली २-१ ले विजयी बन्यो । खेलपश्चात एक कार्यक्रमका बीच सहभागी टोलीहरुलाई आयोजक जी ट्वान्टी फाईभ क्लबका अध्यक्ष जगदिश न्यौपाने, खेल संयोजक रमेश कुमार जोशी,महासचिव किशोर पंगेनी लगायतले पुरस्कृत गरेका थिए ।
जी ट्वान्टी फाईभ कप भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल पनि शुक्रबार नै अपरान्ह ३ बजेदेखि हुँदैछ । जसमा उपाधिका लागि बुटवल ६ र बुटवल ११ ले प्रतिस्पर्धा गर्ने खेल संयोजक रमेश कुमार जोशीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रापत गर्ने आयोजक क्लब कै अध्यक्ष जगदिश न्यौपानेले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)