काठमाडौं, भदौ २५ ।
नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजेबाट कफ्र्यू आदेश जारी भएको छ । हिजोदेखि आज ५ बजेसम्म निषेधाज्ञा निरन्तर चलिरहेको थियो ।त्यसैगरी, भदौ २६ गते बिहान ६ बजे सम्म कफ्र्यू आदेश जारी हुने जनाएको छ ।
रक्षा मन्त्रालय मातहतको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जारी गरेको अपिलमा आन्दोलनका क्रममा सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, हिंस्रक आक्रमण तथा यौनजन्य हिंस्रक प्रयाससमेत भइरहेका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।
यस्ता अपराधजन्य गतिविधि नियन्त्रणका लागि सम्पूर्ण नागरिकसँग सहकार्यका लागि आग्रह गरिएको छ । सेनाले आन्दोलनको क्रममा जनधनको क्षतिप्रति पुनः गहिरो दुःख प्रकट गर्दै यस्तो संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको प्रयासलाई साथ दिन सबैलाई अनुरोध गरेको छ । निषेधाज्ञा तथा कफ्र्यूको समयमा अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन) भने सञ्चालन हुने जनाइएको छ ।
आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिई कडा कारबाही गरिने चेतावनीसमेत नेपाली सेनाले दिएको छ ।यता जेनजीहरुले प्रधानसेनापति अशोकराज सिग्देलसँग आफ्नो एजेण्डा लैजान पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई पठाउने निर्णय प्रस्ताव गरेको छ ।
बुधबारको जेनजीहरुको भर्चुअल बैठकमा उनीहरुले आफ्नो एजेण्डा सेनासँग प्रस्तुत गर्न कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो । यद्यपि कार्कीसँग उनीहरुले कुरा गरिसकेपछि मात्रै यसको अन्तिम टुंगो लाग्ने छ ।
उनीहरुले कार्कीलाई भेटेर जेनजीको प्रतिनिधि बन्न आग्रह गर्ने बैठकमा प्रस्ताव गरेका हुन् । जेनजीहरुको आधिकारिक समूह भने टुंगो लागेको छैन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)