बुटवल,भदौ १५।
लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधनप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुःख व्यक्त गरेका छन् । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिवार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनको निधनले प्रदेश मात्र होइन, समग्र नेपाली समाज नै दुःखी बनेको मुख्यमन्त्री आचार्यले आइतबार जारी गरेको शोक बक्तव्यमा उल्लेख छ । प्रदेश सभा सदस्यको हैसियतमा पुनले समाज परिवर्तन, सुशासन र जनताका आकांक्षालाई सम्बोधन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह मुख्यमन्त्रीले स्मरण गरेका छन् । उनको असामयिक निधनले लुम्बिनी प्रदेशले एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान जनप्रतिनिधि गुमाएको उल्लेख गर्दै यसलाई अपूरणीय क्षति भनेका छन् ।
‘उहाँ सधैँ दुर्गमका जनताको दुःख–पीडा, माग र अपेक्षालाई आवाज दिँदै न्याय र समानताको पक्षमा आवाज उठाउदै आउनुभएको थियो । उहाँको सरल जीवनशैली, जनमुखी सोच र निरन्तरको जनसेवा आज हामी सबैका लागि प्रेरणाको स्रोत बन्नेछ,’ श्रद्धाञ्जली वक्तव्यमा उल्लेख छ । पुनको केहीदिन अघि एकैपटक दुईवटा ठूलो शल्यक्रिया गरिएको थियो । पहिलो शल्यक्रियामार्फत् उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो शल्यक्रियामार्फत् उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन :

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन भएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) की पोलिटब्यूरो सदस्य तथा रुकुमपूर्व इन्चार्ज खेममान खड्काले पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ लगिएको थियो । उपचारकै क्रममा आज उहाँको निधन भएको जानकारी दिनुभयो ।
उहाँको अस्पतालमा एकै पटक दुईवटा जटिल शल्यक्रिया गरिएको थियो । पहिलो शल्यक्रियामार्फत छोरीलाई जन्म दिनुभएकामा दोस्रो शल्यक्रियामार्फत मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिए पनि उपचारकै क्रममा निधन भएको खड्काले बताउनुभयो । पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)