बुटवल,माघ १८-
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा रिपाेर्टर्स क्लव नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्ने गरी बलपूर्वक संविधानको व्याख्या नहुने तर सरल र सहज व्याख्या हुने विश्वास रहेको बताएका हुन ।
संसद विघटनको विरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओली बाहेक सम्पूर्ण नेपाली नागरिकहरु, प्रेस, नागरिक समाज, लिगल कम्युनिटी रहेको पनि भट्टराईले बताए । संसारका कानूनविदहरुले नेपालको घटनालाई नजिकबाट हेरिरहेकाले सर्वोच्च अदालतबाट बलपूर्वक संविधानको व्याख्या नहुने उनले विश्वास गरे ।
‘संविधानको सपथ खाएर न्यायाधीश बन्नुभएका न्यायाधीशहरु संवैधानिक इजलाशमा रहनुभएकाले उहाँहरुले आफुले खाएको सपथ विपरित हुनेगरी फैसला गर्नुहुन्छ भन्ने कल्पना समेत गर्न सकिँदैन’, उनले भने ।
‘प्रतिनिधिसभा विघटन गर्नुहुँदैन भनेर सबैभन्दा धेरै जोड गर्नेमा अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङ थिए, उनीहरूले बोलेका कुराको रेकर्ड बाहिर आएका छन्। त्यस्तै, कांग्रेस नेता कृष्ण प्रसाद सिटौला पनि हो। उहाँहरु प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिनुहुँदैन भन्ने पक्षमा हुनुहुन्थ्यो,’ भट्टराईले भने।
उनले अर्को कारणमा स्वतः हुने अवस्थामा बाहेक संविधानमा प्रतिनिधिसभा विघटन हुने प्रावधान नै नराखिएको सुनाए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)