बुटवल,भदौ ९ ।
सामाजिक कार्यमा अग्रणी संस्था बुटवलको जि ट्वान्टी फाइभ क्लवले देवीनगरमा गर्ने खुल्ला तीज गीत कार्यक्रम–२०८२ को तयारी तीब्र पारेको छ ।क्लवले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजकोे अवसरमा हरेक बर्ष तीज कार्यक्रम गर्दै आएको छ । क्लवले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हाे ।
तीजपर्व मनाउन आउनेहरु दिदिबहिनीहरुका लागि ब्यवस्थित तरिकाले टेन्ट, खानेपानी ,सुरक्षा ब्यबस्था ,बाद्यबादन लगायतको प्रबन्ध समेत गरिएको र करिब ४० हजारदेखि ५० हजारको बिचमा सहभागिता रहने क्लवका अध्यक्ष जगदिश न्यौपानेले बताउनुभयो ।
५६ जना आजिवन सदस्य रहेको क्लवले यसपटक नवौँ संस्करणको तीज गीत कार्यक्रम गर्न लागेको हो । चौपारी क्षेत्रको मूल सडकमा हुने तीज गीत कार्यक्रमको लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकालले उद्घाटन गर्नुहुने महासचिव किशोर पंगेनीले बताउनुभयो ।
तीजको मौलिकता र संस्कृति जोगाउन महिला दिदिबहिनीहरुको उल्लेखनीय योगदान रहेको हुँदा उहाहरुलाइ खुसी बनाउनेगरि कार्यक्रमको भब्य तयारी गरिएको कार्यक्रम संयोजक तेजेन्द्र खनालले बताउनुभयो ।
कार्यक्रम बिहान ११ बजेदेखि साझ ५ बजेसम्म हुने उहाँको भनाइ छ । बुटवलमा तीजको महत्व दिनप्रतिदिन बढ्दै गएका कारण चौपारिमा आयोजना हुने तीज कार्यक्रममा सधै उत्साहजनक सहभागिता रहदै आएको छ ।
कार्यक्रम तयारीका लागि प्रचारप्रसार,मेडिकल डेक्स,स्वयंसेवक, खानेपानी, टेण्ट, स्वयंसेवक उपसमिति लगायतका समितिहरु समेत निर्माण गरि ९० प्रतिशत तयारी पूरा भएको क्लवले जनाएको छ ।बिस २०७३ सालमा स्थापना भएको क्लवले सामाजिक क्षेत्रमा रचनात्मक काम गर्दै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)