बुटवल,भदौ ७।
परियार समुदायको हकहित र संरक्षणका लागि स्थापित संस्था परियार सेवा समाज रुपन्देहीद्वारा शुक्रबार बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष लोक बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक धनीसरा नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।
धनिसरा नेपालीले मौलिक गीतका चुट्का गाउँदै कार्यक्रमको समुद्घाटन गरेकी थिईन् । त्यस्तैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा परियार सेवा समाज रुपन्देहीका संरक्षक राम कुमार रणपालले बोल्दै परियार समुदायको उत्थान र विकासका लागि समाजको आवश्यकता भएको बताए ।
उनले समाजमा आवद्ध महिला दिदीबहिनीहरुलाई तीज पर्वको शुभकामना दिदै तीजलाई भड्किलो नबनाई समाज सुहाउँदो बनाउन आग्रह गरे ।
कार्यक्रममा समाजका अध्यक्ष लोक बहादुर नेपालीले बोल्दै परियार समाजले हरेक वर्ष रचनात्मक कार्यक्रमहरु गर्दै आएकोले यस वर्ष पनि निरन्तरता दिन तीज मिलन कार्यक्रम गरिएको बताए ।
उनले तीज मिलन कार्यक्रमले समाजका सबै महिला दिदीबहिनी तथा दाजुभाइलाई एकजुट हुन मद्दत पुग्ने बताए ।
कार्यक्रममा समाजका उपाध्यक्ष तथा तीज मिलन कार्यक्रमका संयोजक शान्ता रणपालले स्वागत मन्तव्य व्यक्त गर्दै महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजले आपसमा सम्बन्ध विस्तारसंगै खुसीयाली साटासाट गर्न महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।
उनले दिदीबहिनीहरु पुरुषसरह समान अवसर र अधिकारका लागि अगाडि बढ्न जरुरी रहेको बताउँदै गीतका माध्यमबाट शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा लोक तथा दोहोरी गायक नारायण विपी परियार, गायिका कुसुम परियारले साँस्कृतिक कार्यक्रममार्फत उपस्थित महिला दिदीबहिनीहरुलाई तीजका गीत सुनाएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा मौलिक संस्कृति झल्किने खालका तीजका गीतहरुमा नाच्न लगाई प्रथम, द्वितीय, तृतीय र शान्तवना स्थान प्राप्त गर्नेलाई मायाको चिनो प्रदान गरिएको थियो । समाजका सचिव कमल छिनालले कार्यक्रमको सञ्चालन गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)