बुटवल,साउन २१ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले मुद्दा फछ्र्यौट दरमा बृद्धि गरेको छ । बुटवलमा रहको यो अदालतले चालू आर्थिक वर्ष २०८१-०८२ मा ३ हजार २०९ वटा मुद्दा फस्र्यौट गरेको हो ।
अदालतका निमित्त रजिष्ट्रार हरिगोपाल ज्ञवालीका अनुसार अघिल्लो आर्थिक वर्षबाट सरेर आएका ८३२ वटा मुद्दा र नयाँ दर्ता भएका ३ हजार ८१ गरी जम्मा ३ हजार ९१३ वटा मुद्दामध्ये ३ हजार २०९ वटा मुद्दा फस्र्यौट भएका हुन् । प्रतिशतका आधारमा गत वर्षभन्दा ३.३१ प्रतिशत बढी ८२.०१ प्रतिशत मुद्दा फस्र्यौट भएका छन् ।
गत वर्ष ७८.७० प्रतिशत मुद्दा फस्र्यौट भएका थिए । चालू आर्थिक वर्षमा बाँकी रहेका ७०४ वटा मुद्दामध्ये ६ महिना भित्रका ५९७ वटा र ६ महिना नाघेका १०७ वटा मुद्दा रहेका छन् । यो तथ्यांक असार ३० गतेसम्मको रहेको एक वर्ष कार्य प्रगति विवरणमा भनिएको छ । गत आर्थिक वर्ष फस्र्यौट हुन बाँकी ८३२ वटा मुद्दा चालू आर्थिक वर्षका लागि दायित्वका रुपमा सरेर आएको अदालतले जनाएको छ ।
उच्च अदालत तुलसीपुर, बुटवलका मुख्य न्यायाधीश बासुदेव आचार्यले पछिल्ला वर्षमा अदालतमा संख्यात्मक रुपले मुद्दा बढ्दै गएको र फस्र्यौट दर पनि बढिरहेको बताउनुभयो ।उहाँले आर्थिक वर्ष ०७७-०७८ मा कुल २ हजार ५७८ मुद्दामध्ये ४९.८४ प्रतिशत अर्थात् १ हजार २५८ मुद्दा फस्र्यौट भएको जानकारी दिनुभयो ।
यस्तै आर्थिक वर्ष ०७८-०७९ मा कुल ३ हजार ५२४ मुद्दामध्ये ५३.०९ प्रतिशत अर्थात् १ हजार ८७१ मुद्दा फस्र्यौट भएका थिए । आर्थिक वर्ष ०७९-०८० मा कुल ३ हजार ८८९ मुद्दामध्ये ६०.३७ प्रतिशत अर्थात् २ हजार ३४८ मुद्दा फस्र्यौट भएका थिए । आर्थिक वर्ष ०८०-०८१ मा कुल ३ हजार ९०७ मुद्दामध्ये ७८.७० प्रतिशत अर्थात् ३ हजार ७५ मुद्दा फस्र्यौट भएका थिए । यस्तैगरी चालू आर्थिक वर्षमा मेलमिलापतर्फ कुल ३२१ मुद्दामध्ये १९.४८ प्रतिशत अर्थात् ६० वटा सफल भएका छन् ।
उच्च अदालत तुलसीपुर, बुटवल इजालसअन्तर्गत रुपन्देही जिल्ला अदालतमा ६३.४९ प्रतिशत अर्थात् ५ हजार ७३९, अर्घाखाँचीमा ८७.७९ प्रतिशत अर्थात् ५२५, कपिलवस्तुमा ६४.९९ प्रतिशत अर्थात् २ हजार ८७०, गुल्मीमा ७२.१७ प्रतिशत अर्थात् ५५०, पाल्पामा ७४.०९ प्रतिशत अर्थात् ८०१, नवलपरासीमा ६८.३८ प्रतिशत अर्थात् २ हजार ४३१ मुद्दा फस्र्यौट भएका छन् ।
रूपन्देही अदालतमा पनि ९ दशमलब ०९ प्रतिशतले मुद्दा फछ्र्यौट दर बृद्धि :
रुपन्देही जिल्ला अदालतले मुद्दा फछ्र्यौट दरमा बृद्धि गरेको छ । अदालतका अनुसार आर्थिक वर्ष २०८०–०८१ भन्दा आव २०८१–२०८२ मा ९ दशमलब ०९ प्रतिशतले मुद्दा फछ्र्यौट बृद्धि भएको हो । गत वर्ष ५५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको अदालतले अघिल्लो वर्ष ६४ दशमलब ०९ पतिशत मुद्दा फछ्र्यौट गरेको छ ।
अदालतले वार्षिक समिक्षा कार्यक्रम आयोजना गरी यसबारे जानकारी दिएको हो । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले अघिल्लो वर्षबाट लगत सरी आएका र नयाँ दर्ता भएका कुल ९ हजार ४१ मुद्दा मध्ये ५ हजार ७९५ मुद्दा फछ्र्यौट गरिएको जानकारी दिनुभयो । जुन कुल मुद्दाको ६४ दशमलब ०९ प्रतिशत हुन्छ ।
न्यायाधीश बस्नेतका अनुसार अदालतमा २०८१–०८२ मा ४ हजार ९६० मुद्दा दर्ता भएका थिए । अघिल्लो वर्षबाट ४ हजार ८१ मुद्दा जिम्मेवारी सरेर आएका थिए । उनका अनुसार अदालतले ६ हजार ४९२ मुद्दा फछ्र्यौट लक्ष्य राखेको थियो । तर, लक्ष्य भने भेट्टाउन नसकिएको उहाको भनाई छ । ‘हाल अदालतमा ३ हजार २४६ मुद्दा विचारधीन छन्’, उहाले भन्नुभयो–‘वार्षिक ५ सय बढी मुद्दा दर्ता हुने मुलुकभरका अदालतहरुमध्ये हामी फछ्र्यौट दरमा दोस्रोमा छौं ।’
बस्नेतका अनुसार अदालतमा हाल २ वर्ष नाघेका विचारधीन मुद्दा ९ वटा मात्रै छन् । १८ महिनादेखि २ वर्षभित्रका १५५ र १८ महिना भित्रका मुद्दा ३ हजार ८२२ मुद्दा छन् । अदालतले आव २०८१–०८२ मा १ हजार ३ सय ७५ वर्ष ५ महिना ६ दिन कैद असुलउपर गरेको छ भने अझै ३ हजार ४९८ वर्ष ४ महिना १ दिन असुल गर्न बाँकी छ । यस्तै, ७ करोड ९७ लाख ९१ हजार १५३ रुपैयाँ जरिवाना असुलउपर हुँदा ९४ करोड १२ लाख ८० हजार ४५४ रुपैयाँ असुल गर्न बाँकी छ ।
यस्तै, अदालतले २ हजार ९६७ वटा फैसला कार्यान्वयन गरेको छ भने अझै १ हजार ७४० फैसला कार्यान्वयन गर्न बाँकी छन् । यस्तै, पारिवारिक इजलासमा रहेका ५ सय ६१ वटा मुद्दामध्ये ३८२ वटा फछ्र्यौट गरिएको छ । रुपन्देही जिल्ला अदालतमा आर्थिक वर्ष २०८१–०८२ बाट मात्रै पारिवारिक इजलास संचालन भएको थियो । न्यायाधीश बस्नेतका अनुसार अदालतले मेलामिलापमार्फत् १२५ वटा मुद्दा टुंग्याएको छ ।
कुल मुद्दा १ हजार ६१५ दर्ता भएकोमा १ हजार ४०१ वटा भने मेलमिलापबाट सफल हुन सकेका छैनन् ।रुपन्देही अदालतका अनुसार जिल्लामा पछिल्लो समय बैंकिङ कसूर, चेकअनादर, लागूऔषध, सवारी ज्यान, सम्बन्ध विच्छेद, अंशमानाचामल लगायतका मुद्दा बढी मात्रामा दर्ता भइरहेका हुन् ।जिल्लामा ८९ वटा मुद्दा भने विचाराधीन अवस्थामा छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)