बुटवल,साउन ७ ।
करिव ५ सय जनाको उपस्थितिमा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले बीपी स्मृतिमा साहित्यिक सांझ कार्यक्रम सम्पन्न गरेको छ ।
मंगरबार बुटवलमा पार्टीका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा बीपी स्मृति साहित्य साँझ कार्यक्रम आयोजना गरि साहित्यिक प्रवचन सम्पन्न गरेको हो ।
कार्यक्रममा बीपी कोइरालाको व्यक्तित्व,विभिन्न लोकतान्त्रिक आन्दोलनको नेतृत्व,प्रजातन्त्र स्थापनको लागि गरिएको योगदान,समाजवाद,सिद्धान्त र साहित्यका बारेमा चर्चा गर्दै कविता,गजल र मुक्तक गरि ३८ जना श्रष्ठाहरुले आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले अहिले नेपालका हरेक राजनीतिक दलहरुले समाजवादको नारा जप्दै हिडिरहेको पाईन्छ जुन नारा बीपिले आफ्नो राजनीति यात्रा सुरु गर्दानै तय गर्नु भएको बताउनु भयो । उहाँले बीपीका सिद्धान्त र विचारलाई पार्टी र अहिलेको सरकारले जति आत्मसाथ गर्नुपर्ने हो त्यति गर्न नसकिएको बताँउदै साहित्य साँझ कार्यक्रमले नेतृत्वगणलाई एक मार्गनिर्देशन दिन सफल भएको भन्दै आयोजक क्षेत्रीय समितिलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले बीपीका धेरै कार्यक्रमहरुमा संगै सहकार्य गर्ने अवसर पाएको अनुभव सुनाँउदै शब्दमा वीपीको विचार व्यक्त गर्न नसकिने बताउनुभयो ।
यस्तै नेपाली काँग्रेस बुटवल उपमहानगरपालिकाका नगर सभापति एवं नगर प्रमुख खेलराज पाण्डेले वीपीका विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्न सके मात्र नेपाली जनताले सामाजिक न्यायको महसुश गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममाका अध्यक्ष एवं नेपाली काँग्रेस क्षेत्र नम्बर २ रुपन्देहीका सभापति प्रजापाल गिरीले हजुरबुवा दे्खि नाती सम्म चार पुस्ताले बीपीको सिद्धान्त र विचारलाई एकै स्थानमा रहेर कविता,गजल र मुक्तकका माध्यमबाट बीपिलाई स्मरण गर्दै बुझाइमा एकरुपता ल्याउनका लागि क्षेत्रीय समितिले बीपी स्मृति साहित्य साँझ कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।नेपाली काँग्रेस क्षेत्र नम्बर २ रुपन्देहीका सचिव विमलराज भट्टराईको संचालन तथा उपसभापति खड्क बहादुर महतको स्वागतमा सम्पन्न बीपी स्मृति साहितय साँझ कार्यक्रममा नेपाली काँग्रेस वडा देखि प्रदेश तहसम्मका नेतागण,भातृसंगठनका प्रमुख एवं प्रतिनिधि,बुद्धिजिवि,साहित्यकार ,पत्रकार लगायतको सहभागिता थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)