बुटवल,माघ १६-
नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी परे प्रतिनिधिसभा बैठक बस्ने बताएका छन् ।
बिराटनगरमा नेकपाद्वाराआयाेजित बिराेधसभामा बाेल्दै उनले भने-‘संविधानले हामीलाई बैठक बस्ने अधिकार दिएको छ,केपी ओलीलाई विघटन गर्ने अधिकार दिएको छैन्,’ उनले भने, ‘जरुरी परे संसद बैठक बसेर ओलीमाथि कारबाही गर्न सकिन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको बताउँदै उनले जरुरी परे संसद बैठक बस्न सक्ने बताएका हुन् ।
‘सर्वोच्चले पक्कैपनि संविधान र लोकतन्त्रको भावना अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं,’ उनले अघि भने, ‘जरुरी परे विकल्प जनतासँग छ ।’उनले संसद् नभई ओली ओलीको सरकार चाहिँ भंग भएको बताउँदै सर्वोच्चले सही फैसला गर्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
प्रचण्डले नेपालमा धेरै संविधान बनेपनि २०७२ सालमा बनेको संविधान विषेश भएको बताए । ‘संविधान त २००४ सालदेखि नै बन्दै आएको हो । सबैमा राजा महाराजाको अधिनमा रहने उल्लेख थियो,’ उनले भने, ‘ नयाँ संविधान सार्वभौम जनताको प्रतिनिधिले बनाएका हुन् ।’
प्रतिक्रियावादी एजेन्टको बलमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानमाथि नै प्रहार गरेको उनले बताए । ‘ओलीले मात्रै संसद् भंग गरेनन्,’ प्रचण्डले भने, ‘ओली खलनायक भएर निस्किनुभयो । उहाँ प्रतिक्रान्तिहरूको गोटी बन्नुभयो ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)